ब्रसेल्स । युरोपेली संघ (ईयू)का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि बिहीबार ब्रसेल्समा भेला भएका छन् । बैठकमा मुख्य रूपमा बेल्जियमको आपत्तिलाई सम्बोधन गर्दै सहमति जुटाउने प्रयास केन्द्रमा रहने एएफपीले जनाएको छ ।
रूस–युक्रेन युद्ध चौथो वर्षमा प्रवेश गर्न लाग्दा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि छिटो सम्झौतामा जोड दिँदै आएको सन्दर्भमा २७ सदस्यीय ईयू ब्लकले युक्रेनको स्थिति बलियो बनाउन खोजिरहेको छ । अधिकारीहरूले युक्रेनको अस्तित्व र युरोपको विश्वसनीयता दुवै दाउमा रहेको भन्दै वार्ता अन्तिम क्षणसम्म चल्न सक्ने बताएका छन् ।
जर्मनीका चान्सलर फ्रेडरिक मेर्जले यस हप्ता चेतावनी दिँदै भने, ‘यदि हामी यसमा असफल भयौँ भने ईयूको कार्य गर्ने क्षमतामा वर्षौँसम्म गम्भीर क्षति पुग्नेछ ।’ उनले यसलाई युरोपका लागि ऐतिहासिक क्षणको परीक्षा भएको उल्लेख गरे । ईयूको अनुमानअनुसार राष्ट्रपति भोलोदिमर जेलेन्स्की नेतृत्वको युक्रेनलाई आगामी दुई वर्षसम्म टिकिरहन थप करिब एक खर्ब ३५ अर्ब युरो आवश्यक छ र अप्रिलदेखि नगद संकट सुरु हुन सक्ने अवस्था छ । यस खाडललाई कम गर्न युरोपेली आयोगले रूसी केन्द्रीय बैंकको करिब दुई खर्ब १० अर्ब युरोबराबरका फ्रिज भएका सम्पत्तिहरू प्रयोग गर्ने योजना अघि सारेको छ ।
प्रस्तावित योजनाअन्तर्गत पहिलो चरणमा दुई वर्षभित्र युक्रेनलाई करिब ९० अर्ब युरो उपलब्ध गराइनेछ । यो एक नयाँ वित्तीय संयन्त्र हो, जसमा ती कोषहरू ईयूलाई ऋणका रूपमा दिइने र ईयूले त्यसलाई युक्रेनलाई ऋणस्वरूप उपलब्ध गराउने व्यवस्था गरिएको छ । क्रेमलिनले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिरेपछि मात्र युक्रेनले ती ‘क्षतिपूर्ति ऋण’ फिर्ता गर्ने अवधारणा अघि सारिएको छ ।
तर यो योजनामा बेल्जियम सबैभन्दा ठूलो अवरोध बनेको छ । बेल्जियममा रहेको अन्तर्राष्ट्रिय निक्षेप संस्था युरोक्लियरमा रूसी सम्पत्तिको ठूलो हिस्सा सुरक्षित भएकाले मस्कोबाट सम्भावित कानूनी र वित्तीय प्रतिशोधको डर उसले व्यक्त गर्दै आएको छ । रुसले युरोक्लियरविरुद्ध मुद्दा हाल्ने घोषणा गरिसकेको छ । यसै कारण बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरमाथि शिखर सम्मेलनमा विशेष दबाब रहनेछ ।