काठमाडौं, सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पुनः पक्राउ परेका छन् । सेयरबजारमा झुटो कारोबार गरेर मूल्य प्रभावित गरेको आरोपमा सेयर अग्रवाल फेरि पक्राउ परेका हुन् । ‘धितोपत्रसम्बन्धी ऐन, २०६३’ अन्तर्गतको कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवाललाई शुक्रबार महाराजगञ्जबाट पक्राउ ।
गरेको हो ।
अग्रवाललाई यसअघि पनि साउनमा पक्राउ गरी छोडिएको थियो । यस पटक उनलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कारबाहीको लागि पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनअनुसार प्रतिवादी दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लि.को सेयर खरिद गरी धितोपत्रसम्बन्धी ऐन,२०६३ को दफा ९७ (ग) बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा सेयर बिक्री गरी करिब ४९ लाख १९ हजार आठ सय ६५ रुपैयाँ ९० पैसा कानुनविपरीत नाफा आर्जन गरेको र उनले अन्य टीएमएस युजर प्रयोग गरी आपसी खरिदबिक्री तथा आफन्त÷सम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको धितोपत्र बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
यसबाहेक कर्पोरेट डेभलपमेन्ट बैंक लि.को सेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोही ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसुर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा जिल्ला मोरङ साबिक विराटनगर उपमहानगरपालिका वडा नं.९ बस्ने ४२ वर्षीय अग्रवाललाई शुक्रबार काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट पक्राउ अनुमति प्राप्त शुक्रबार काठमाडौं का.म.न.पा.वडा नं. ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य गरिरहेको सीआईबीले जानकारी दिएको छ ।