काठमाडौं । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका कुल ५४ वटा संस्थाहरूले कुल एक खर्ब ४६ अर्ब २२ करोड ५० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा प्रवाह क्रमशः ७५ खर्ब २० अर्ब २४ करोड ९० लाख र ५६ खर्ब ३३ अर्ब ४६ करोड ५० लाख रुपैयाँ छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले सेयर धितोमा पछिल्लो अवधिमा प्रवाह गरेको कर्जा गत आवको सोही अवधिको तुलनामा ३८ अर्ब ४५ करोड ७० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा बैंक तथा फाइनान्सले कुल ६६ खर्ब ४४ अर्ब २३ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५२ खर्ब ८० अर्ब २८ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल एक खर्ब सात अर्ब ७६ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यस अवधिमा वाणिज्य बैंकहरूले मात्र कुल ६७ खर्ब ६३ अर्ब ४६ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब नौ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र प्रवाह गरेको कर्जा रकम एक खर्ब २३ अर्ब ५१ करोड ३० लाख रुपैयाँ रहेको छ । यो कर्जा गत आवको सोही अवधिभन्दा ३७ अर्ब ६० करोड २० लाख रुपैयाँले बढी हो । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूले कुल ५९ खर्ब सात अर्ब १६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ४६ खर्ब ७० अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल ८५ अर्ब ९१ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
विकास बैंकहरूले पनि चालू आवको कात्तिक मसान्तसम्ममा कुल छ खर्ब २१ अर्ब ५३ करोड २० लाख रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब २१ अर्ब १६ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल १८ अर्ब ८८ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा एक अर्ब २६ करोड ५० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल छ खर्ब तीन अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब सात अर्ब ६३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितो शीर्षकमा मात्र कुल १७ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले भने चालू आवको कात्तिक मसान्तसम्ममा कुल एक खर्ब ३५ अर्ब २५ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब तीन अर्ब २५ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल तीन अर्ब ८३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४१ करोड रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाइनान्स कम्पनीहरूले कुल एक खर्ब ३३ अर्ब ७२ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब दुई अर्ब एक करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सेयर धितोमा मात्र कुल चार अर्ब २३ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।