काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी नितिगत तयारी थालिएको बताएका छन् ।
शनिबार ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उनले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी दिए । सूचना प्रविधिको विकासका साथै डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्नुपर्ने उनले बताए । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न उनले युवाहरूलाई आग्रह गरे । उनले भने, ‘प्रस्ताव लिएर आउनुस्, सहकार्यमा काम गरौँ, अवसरको सिर्जना गर्न हामी तत्पर छौँ ।’ मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल मार्गमा अगाडि बढ्न युवाको आवश्यकता नीतिगत रूपमै समेट्ने व्यवस्था गरिने बताए । मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गर्न उचित भएपनि आमसहमति नबन्दा यसपटक त्यो सम्भव हुन नसकेको बताए ।