काठमाडौं । दोस्रो संस्करणको राष्ट्रिय घर निर्माण फेस्ट २०८२ लाई लक्षित गर्दै सारा सेवा आफ्ना विशेष अफरहरू सार्वजनिक गरेको छ ।
रियल–स्टेटको क्षेत्रमा काम गर्दै आएको सारा सेवाले फेस्टमा अवलोकन गर्न आउने दर्शकहरूका लागि विशेष अफर ल्याएको हो । पहिलो अफरका रुपमा सारा सेवाले ‘फेस्टिभल अफर’ अघि सारेको छ । यो अफरमार्फत सम्पत्ति खरिद गर्ने ग्राहकहरूलाई विशेष सम्मान तथा सुविधा प्रदान गर्ने लक्ष्य राखिएको छ । कम्पनीले सम्पत्ति खरिद मूल्यको आधारमा घरेलु तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू उपलब्ध गराउने योजना अघि सारेको हो । यसअन्तर्गत एक करोड रुपैयाँसम्मको सम्पत्ति किन्ने ग्राहकका लागि पर्यटकीय सहर पोखरास्थित रुपाकोट रिसोर्टमा २ रात÷३ दिनको कपल प्याकेज, एकदेखि तीन करोड रुपैयाँसम्मको प्रोपर्टी खरिदकर्ताका लागि दिल्ली, जयपुर र आग्रासहितको ५ रात÷६ दिनको प्रिमियम भारत कपल टुर, तीनदेखि पाँच करोडसम्मको सम्पत्ति खरिद गर्नेहरूका लागि ४ रात÷५ दिनको थाइल्यान्ड कपल टुर र पाँच करोडभन्दा माथिको सम्पत्ति खरिदकर्ताका लागि ७ रात÷७ दिनको भियतनाम तथा थाइल्यान्डको भ्रमण उपलब्ध गराइनेछ ।
राष्ट्रिय घर निर्माण फेस्ट २०८२को प्रोपर्टी पार्टनर समेत रहेको सारा सेवाले ग्राहकको लगानीलाई सम्मान गर्दै, सम्पत्ति खरिदलाई मात्र वित्तीय निर्णय नभई स्मरणीय अनुभवसँग जोड्ने उद्देश्यले यस्तो विशेष अफर सार्वजनिक गरेको जनाएको छ । कम्पनीका अनुसार, यस प्रकारको सुविधाले सम्पत्ति किन्ने ग्राहकलाई प्रत्यक्ष लाभ दिने मात्र नभइ रियल–स्टेट कारोबारमा सन्तुष्टि, सुरक्षित लगानी र दीर्घकालीन सम्बन्ध निर्माणमा सहयोग पुग्नेछ । यस्तै, सारा सेवाले पर्व महिनाभरका लागि उल्लेखनीय छुट योजना पनि सार्वजनिक गरेको छ, जसले सम्पत्ति खरिद तथा सम्पत्ति–प्रमोशन सेवामा थप सहजता र प्रोत्साहन प्रदान गर्नेछ । प्रोपर्टी डिलमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ ।
साथै, पुस १२ देखि १५ का बीचमा आफ्नो सम्पत्ति बिक्रीका लागि गरिने विज्ञापन सेवामा ५० प्रतिशत छुट प्रदान गरिनेछ, भने सम्पूर्ण महिनाभर बुक गरिने सबै विज्ञापनहरूमा २५ प्रतिशत छुट लागू हुनेछ । कम्पनीका अनुसार, यस अभियानले सम्पत्ति खरिदबिक्रीमा सक्रिय ग्राहक र व्यवसायिक साझेदारहरूलाई थप आर्थिक राहत, दृश्यता तथा पहुँच विस्तारमा सहयोग गर्नेछ । कम्पनीले फेस्टिवल अफरलाई वर्षकै सबैभन्दा आकर्षक योजनाका रुपमा अघि सारेको जनाएको छ । घर निर्माण फेस्टमा एक सय ५० बढी स्टल प्रदर्शनीमा रहने छन् । काठमाडौंको भृकुटीमण्डपमा फेस्ट हुन लागेको फेस्टले नेपालको निर्माण व्यवसाय क्षेत्रलाई आधुनिक प्रविधिको प्रयोगमार्फत नयाँ उचाइमा पु¥याउने अपेक्षा राखिएको छ ।
चार दिनसम्म हुने प्रदर्शनीमा दुई सय करोड बढीको आर्थिक कारोबार हुने आयोजकको अपेक्षा छ । घर निर्माणसम्बन्धी यस प्रदर्शनीमा ४० हजार बढी दर्शकले निर्माणसम्बन्धी प्रत्यक्षरूपमा अवलोकन गर्ने अनुमान गरिएको छ । फेस्टमा कुनै पनि निर्माणको तयारीदेखि निर्माणसम्पन्न नहुँदासम्मका सबै चरणहरूको प्रत्यक्ष प्रदर्शनी गरिने छ । यस पटकको प्रदर्शनीमा विभिन्न ४० वटा इन्जिनियरिङ कलेजले तयार पारेका थ्री डी मोडलको प्रदर्शनी समेत हुनेछ ।