काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले बैठकले लेखापरीक्षण प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद–प्रवाह विवरण स्वीकृत गरेको छ ।
यसैगरी सभाले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ८५ लाख ११ हजार पाँच सय रूपैयाँ पुग्ने छ । कम्पनीले पुँजी वृद्धीमार्फत नेसनल पेमेन्ट स्विच, नेसनल तथा क्रस बोर्डर कारोबारका लागि थप भुक्तानी प्रणाली विकास गर्ने, जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने र सञ्चालनमा रहेका पूर्वाधारहरूको स्तरोन्नतिका लागि प्रयोग गर्ने बताएको छ ।
सभाले कम्पनीको सञ्चालक समितिमा दुई जना सञ्चालकहरू निर्विरोध रूपमा निर्वाचित गरेको छ । सोअनुसार विकास बैंकहरूबाट प्रतिनिधित्व गर्दै एनसीएचएलको सञ्चालक समितिमा सांग्रिला डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारी तथा फाइनान्स कम्पनीहरूबाट प्रतिनिधित्व गर्दै आईसीएफसी फाइनान्सका नायव महाप्रबन्धक लक्ष्मण प्रसाद जैसी निर्वाचित भएका छन् । एनसीएचएलको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकको एक जना, वाणिज्य बैंकहरूबाट तीन जना, विकास बैंकहरू, फाइनान्स कम्पनीबाट र स्वतन्त्र गरी क्रमशः १/१ जना रहेका छन् । एनसीएचएलमा नेपाल राष्ट्र बैंकको नौ दशमलव ४५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरूको ९० दशमलव ५५ प्रतिशत स्वामित्व रहेको छ ।