काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीमा रहेको बाल सुधार गृहको निरीक्षण गरेका छन् । मन्त्री अर्यालले आइतबार भक्तपुरमा रहेको बाल सुधार गृहको अवलोकनका साथै समग्र त्यहाँको बस्तुस्थितबारे जानकारी लिएका हुन् ।
निरीक्षणका क्रममा मन्त्री अर्यालले त्यहाँ रहेको बाल बन्दीहरूको कक्षा कोठा, उनीहरूको दैनिक जीवनयापन र खानपान र बस्ने व्यवस्थाबारे सुधार गृहका अधिकारीसँग जानकारी लिएको उनको सचिवालयले जनाएको छ । त्यहाँ रहेका १८ वर्षमाथि पुगेका तर उनीहरूको समयावधि नपुगेकाले बालबन्दी राख्दा आइपरेका समस्याबारे पनि उनले जानकारी लिएका थिए । भक्तपुरको बाल सुधार गृह यूसेफ नेपालअन्तर्गत चलिरहेको छ । मन्त्री अर्यालले शनिबार नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गर्न गरेका थिए ।
यस्तै मन्त्री अर्यालले नेपाल सरकारको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको ‘निशान छाप’ चिह्नको निर्माण गरेका तथा हाल अस्वस्थ रहेका हिमालय गौतमलाई पनि भेट गरेका छन् । गौतम निवास ललितपुरको इमाडोल पुगेर मन्त्री अर्यालले गौतमको परिवारसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।