काठमाडौँ । लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । ३३ वर्षीय रञ्जित सिंह आइतबार पक्राउ परेको नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले जानकारी दिएको हो ।
थाई एयरलाइन्सको उडानहुँदै बैंककबाट काठमाडौँ आएका रञ्जितलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त लागूऔषध फेला परेपछि पक्राउ गरेको हो । प्रहरीले सोही लागूऔषध सङ्कलन गर्न आएका अर्का भारतीय नागरिक पुनित शर्मालाई पनि विमानस्थलको अन्तरराष्ट्रिय आगमन पार्किङ एरियाबाट पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।
यसैगरी कैलाली धनगढी उपमहानगरपालिका–३ घर भएका नागार्जुन नगरपालिका–२ ठूलो भर्याङ डेरा गरी बस्ने ४० वर्षीय रोबिन भट्टराईको कोठाबाट सुन तथा चाँदीका गरगहना समेत गरी करिब दुई लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी भइरहेको जनाएको छ ।