काठमाडौं । एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निश्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धी निर्देशिकाहरूमा भएको व्यवस्थाबमोजिम निकट भविश्यमा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निश्कासन कार्यका लागि सेयर निश्कासन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको यस एनपीआई नारायणी सामुदाकि हस्पिटल लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूहअन्तर्गतको ८० प्रतिशत सेयर कायम रहेको कम्पनीले जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको अन्तिम चरणमा रहेको चार सय शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइएको हस्पिटलका लागि थप पुँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका सञ्चालक चूडामणि खनालले जानकारी गराए ।
हस्पिटल सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको एनपीआई नारायणी सामुदाकि हस्पिटल लिमिटेडको स्थापना वि.सं. २०६३ मा भएको र हाल यसको वार्षिक कारोवार १.१५ अर्ब रहेको जानकारी कम्पनीले जनाएको छ साथै, हाल यस संस्थामा चार सय २५ भन्दा बढी कर्मचारीहरू कार्यरत रहेका छन् ।
सम्झौतामा एनपीआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडको तर्फबाट कम्पनीका सञ्चालक चूडामणि खनाल तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा निष्कासन कम्पनीको तर्फबाट कम्पनीको सञ्चालक विष्णु कुँवर तथा सञ्चालक निरज कुमार श्रेष्ठहरूको उपस्थिति रहेको थियो ।