काठमाडौं । होटल सब्रिनाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वरिष्ट कलाकार निर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले कम्पनीका सबै प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । सभामा जानकारी गराइएअनुसार होटल सब्रिनाको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ र जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने हालको चुक्तापुँजी ६४ करोड ९६ लाख रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम १५ लाख कित्ता बराबरको ४७ करोड ४ लाख रुपैयाँको शेयर सर्वसाधारणका लागि निष्कासन गर्ने तयारी गरेको छ ।
यस प्रयोजनका लागि कम्पनीले गत असार महिनाको अन्त्यतिर संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । हाल अपार्टमेन्टसहित ६० वटा कोठाबाट सेवा प्रदान गर्दै आएको होटल सब्रिनाले कोठा संख्या थप गर्ने प्रक्रियामा रहेको अध्यक्ष निराजन थापाले जानकारी दिए । उनका अनुसार होटलले आगामी दिनमा १०४ वटा कोठा तथा क्यासिनो सञ्चालन गर्दै पाँचतारे स्तरको होटलका रूपमा स्तरोन्नति गर्ने तयारी गरिरहेको छ । होटल सब्रिना सञ्चालनमा आएको तीन वर्षमै होटेल क्रिटिक एण्ड ब्लगर्स एसोसिएसन तथा होटल डट कमद्वारा सन् २०२१ मा नेपालको सर्वोत्कृष्ट होटलको उपाधिबाट सम्मानित भएको थियो ।