काठमाडौं । सेयरबजारमा संकुचन आउने क्रम जारी छ । बजारमैत्री नीतिका बाबजुद लगानीकर्ताको आत्मविश्वास बढ्न नसक्दा निरन्तर नेप्से ओरालो लागिरहेको छ । यो क्रमले सोमबार पनि निरन्तरता पाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १९ दशमलव ९२ अंकको गिरावट आएको बजारमा सोमबार पुन १३ दशमलव ८८ अंकले सूचक घटेको छ । योसँगै बजार २५ सय ८१ दशमलव २१ विन्दुमा खुम्चिएको छ । सोमबार तीन सय ३२ वटा सेयर ६५ हजार तीन सय १२ पटक किनबेच भएका थिए । जसमा ९१ लाख ६७ हजार तीन सय ५९ कित्ता सेयर मात्र बिक्री भए । यो भनेको कुल तीन अर्ब ५१ करोड ५९ लाख ३० हजार सात सय १८ रुपैयाँको कारोबार हो ।
साताको दोस्रो कारोबार दिन अघिल्लो दिनजति पनि कारोबार हुन सकेन । आइतबार चार अर्ब ५२ करोडको किनबेच भएको थियो । त्यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि चार अर्ब ५७ करोडको कारोबार भएको थियो । ‘यो साता त विस्तारै कारोबार बढ्ला, सूचक पनि उक्लेला ठानेका थियौँ, त्यसो हुन सकेन’, एक लगानीकर्ताले भने ।
सेयरबजारका अध्येताहरू यसलाई लगानीकर्ताको आत्मविश्वास कमजोर भएको बताउँछन् । पछिल्लो समय राजनीतिक माहोल तरल रहेकाले बजारमा यसको नकारात्मक प्रभाव अझै कायम रहन सक्ने उनीहरूको भनाइ छ । पछिल्ला २० कारोबार दिनलाई हेर्ने हो भने सेयरबजारमा दुई पटक सात अर्बको, दुई पटक छ अर्बको, तीन पटक पाँच अर्बको, सात पटक चार अर्बको र बाँकी तीन अर्बको मात्र कारोबार भएको नेपाल स्टक एक्सचेन्जको दैनिक कारोबार तथ्यांकमा देखिन्छ ।
यसले गर्दा चुनाव भएर देशको राजनीतिले एउटा ट्र्याक नसमाउँदासम्म सेयरबजारमैत्री नीतिका बाबजुद बजारमा सुधार नआउने देखिन्छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत सेयर धितो कर्जामा एकल ग्राहक कर्जा सीमा खारेज गरिसकेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले सूचीकृत कम्पनीको सेयर तथा डिबेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था रहेकोमा उक्त अवधिलाई घटाई छ महिना कायम गरेको छ ।
त्यसैगरी, सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत सम्ममात्र बिक्री गर्न सक्ने व्यवस्था खारेज भइसकेको छ । राष्ट्र बैंकले बजारलाई सघाउन नीतिगत सहजीकरण गरे पनि लगानीकर्ताले त्यसलाई आत्मसात् गर्न सकिरहेका छैनन् । सेयरबजारलाई राजनीतिक अवस्थाले मुख्य प्रभावित गर्ने भएकाले पनि उनीहरू अझै ‘पर्ख र हेर’कै अवस्थामा बसिरहेको जानकारहरू बताउँछन् ।
सोमबारको कारोबारमा १३ उपसमूहहरूमध्ये व्यापार २१ दशमलव ६४ अंकले उकालो लागे पनि बाँकी सूचक खुम्चिएका छन् । खुम्चिएकामध्ये वाणिज्य बैंक चार दशमलव ७७, विकास बैंक २० दशमलव २१, फाइनान्स तीन दशमलव ५७, जलविद्युत २१ दशमलव ८९, जीवन बीमा एक सय ३२ दशमलव ३९, निर्जीवन बीमा ४८ दशमलव ९४ अंकले ओरालो लागेको नेप्सेले जनाएको छ । यीबाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य उपसमूहको सूचक पनि क्रमशः ८६ दशमलव ९६, शून्य दशमलव ९९, २६ दशमलव ९३, २२ दशमलव ३६, शून्य दशमलव शून्य एक र १५ दशमलव ९९ विन्दुले खुम्चिएका छन् । यसले पनि अधिकांश क्षेत्रमा लगानीकर्ताको आत्मविश्वास बलियो हुन नसकेको देखिन्छ ।
यस दिन एसवाई प्यानल लिमिटेडले सबैभन्दा बढी कमाउँदा मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाए । लुम्बिनी विकास बैंकको सोमबार सबैभन्दा बढी रकम कारोबार भयो । जुन उल्लेख्य हिसाबको देखिँदैन । लुम्बिनी विकास बैंकको १० करोडको कारोबार नै यस दिन सर्वाधिक हुन पुग्यो ।