विराटनगर । विराटनगरमा संचालनमा रहेका तारे होटलभित्र सञ्चालित क्यासिनोले विदेशी पर्यटक भित्र्याउने नाममा नेपाली नागरिक, युवा व्यवसायी र विद्यार्थीलाई समेत खुलेयाम प्रवेश दिएर जुवा खेलाउने गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र मोरङ प्रहरीको संयुक्त टोलीले आइतबार राती यहाँका क्यासिनोमा छापा हानेपछि उक्त कुराको रहस्य खुलेको हो । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको निर्देशन पछि सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाको कमान्डमा भएको छापामा २० जना नेपाली जुवाडे पक्राउ परेका छन् । विराटनगरका तारे होटलहरूले क्यासिनोका नाममा खुलेयाम स्थानीय व्यवसायीलाई लगेर जुवाको खाल नै सञ्चालन गर्ने गरेको सूचनापछि स्थानीय प्रशासनले छापा मारेको थियो । विराटनगरका तारे होटलमा प्रहरीले छापा मार्ने क्रममा क्यासिनो छिर्न नेपालीहरूले भारतीय आधार कार्ड प्रयोग गर्ने खुलेको छ ।
विराटनगरका क्यासिनो प्लेयर हरेक व्यापारीले भारतीय आधार कार्ड बनाएर खुलेयाम जुवा नै खेलिरहेको स्रोतले बताएको छ । प्रहरीले भारतीय आधार कार्ड, एटीएम कार्ड, लाइसेन्स र अन्य परिचयपत्र माग्दा उनीहरू नेपाली भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
क्यासिनोको लतले विराटनगरका ठूला व्यापारिक घरानाका युवा व्यवसायी टाट पल्टिने अवस्थामा पुगेका घटनाहरू पनि सार्वजनिक हुने गरेका छन् । ठूला व्यवसायीहरूले पनि पटक–पटक प्रहरीमा गएर गुनासो गरेको पाइएको स्रोतले जनाएको छ । ‘उनीहरूले प्रहरीलाई हामी बर्बाद भयौँ, हाम्रो घरबार सकियो, छोरो र श्रीमानलाई क्यासिनोको लत लाग्यो, प्रशासनले किन नहेरेको ? भनेर रुवाबासी नै हुन्थ्यो । त्यत्ती हुँदा पनि नेपालीहरू खुलामखुल्ला क्यासिनो गइरहेका थिए । तर पनि प्रहरीले कुुनै एक्सन लिन सकेको थिएन’, स्रोतले भन्यो । यस पटक जिल्ला प्रशसन कार्यालयको अगुवाइमा क्यासिनो अप्रेसन भएपछि अब औद्योगिक घरानाका युवाहरू क्यासिनोमा नियमित जाने र डुब्ने काम बन्द हुने उनीहरूको विश्वास छ ।
क्यासिनो सञ्चालकहरूले नेपाली नछिराएको दाबी गरे पनि वास्तममा विराटनगरका मात्र नभई झापा र सुनसरीका नेपालीहरू समेत यहाँको क्यासिनोमा लाखौँको दाउ थापिरहेका भेटिएका छन् । क्यासिनो नियमावली, २०७० अनुसार क्यासिनोहरूमा आधुनिक अटोमेटिक मेसिनबाट मात्र खेल खेलाउनुपर्ने प्रावधान छ । तर, विराटनगरका क्यासिनोहरूले यो नियमको धज्जी उडाउँदै हातैले तास र कौडा (लाइभ गेम) खेलाइरहेको सुरक्षा स्रोतले नै दाबी गरेका छन् । प्रहरीको अप्रेसनका क्रममा त्यहाँ भएका खेलाडीको साथबाट राति क्यासिनोको पे–कार्ड बोकेर जुवाको खालमा बसेकोसमेत भेटिएको समाचार स्रोतले बताएका छन् । विराटनगरका तारे होटलको क्यासिनोबाट पक्राउ परेका २० जनालाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने प्रक्रिया अघि बढेको छ ।