काठमाडौं । नेपालमै पहिलो पटक सबै प्रकारका व्यवसायलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यसहित फाउन्डर्स नेपाल सार्वजनिक गरिएको छ ।
एभरेस्ट इन्जिनियरिङ कलेजका भुवन प्रसाद जोशीले यो व्यवसाय खोज तथा प्रवर्द्धन मञ्च सुरु गरेका हुन् । यसले साना, मझौला तथा ठूला व्यवसायलाई एउटै डिजिटल प्लेटफर्ममा ल्याई ग्राहक, लगानीकर्ता र साझेदारसँग जोड्ने लक्ष्य लिएको छ । रेस्टुरेन्ट, क्याफे, फेसन, कृषि, टेक स्टार्टअप, सेवा क्षेत्रदेखि थोक तथा खुद्रा व्यवसायसम्मले यस मञ्चमा आफ्नो उपस्थिति जनाउन सक्ने बताइएको छ । नेपालमा दैनिक सयौँ नयाँ व्यवसाय सुरु भइरहे पनि ग्राहकसम्म पुग्न नसक्दा धेरै व्यवसाय संघर्षरत छन् । सामाजिक सञ्जालमा सीमित पहुँच, महँगो विज्ञापन र केन्द्रीय खोज प्लेटफर्मको अभाव व्यवसायीका मुख्य चुनौती रहेका छन् । रेस्टुरेन्ट, क्याफे, कपडा, कृषि, टेक स्टार्टअप तथा सेवा क्षेत्रका व्यवसायले यस प्लेटफर्ममा आफ्नो उत्पादन र सेवा प्रस्तुत गर्न सक्नेछन् । जोशीका अनुसार नेपालमा गुणस्तरीय व्यवसाय भए पनि ग्राहकको अभाव रहेकोले त्यसलाई यस प्लेटर्फमले यो समस्या समाधान गर्नेछ । प्लेटफर्ममा उद्योगअनुसार खोज, अपभोट र समीक्षा, लगानीकर्ता पहुँच र नेटवर्किङ सुविधा समावेश छन् ।
प्रारम्भिक १०० व्यवसायलाई निःशुल्क प्रिमियम सुविधा उपलब्ध गराइने बताइएको छ । यो प्लेटफर्म स्थापनादेखि विस्तारको चरणमा रहेका व्यवसायी, लगानीकर्ता, स्टार्टअप संस्थापक, विद्यार्थी तथा आम उपभोक्तालाई लक्षित गरिएको छ । ग्रामीण तथा सहरी क्षेत्रका व्यवसायलाई समान अवसर दिने लक्ष्य राखिएको छ । यसले ग्रामीण व्यवसायलाई राष्ट्रिय बजारसम्म पुर्याउने, स्थानीय रोजगारी सिर्जना गर्ने, ‘स्थानीय किन्नुहोस्’ अभियानलाई प्रवर्द्धन गर्ने र नेपाली ब्रान्ड निर्माणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।