काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मंगलबार बिहान सञ्चारकर्मीसँगको अन्तरक्रियामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने बताएका छन् ।
कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा उनले जोड दिए ।
उनले कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताए । साथै उनले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउन माग गरे ।
आगामी महाधिवेशन समयमै गर्न पार्टी सभापति देउवाले पदाधिकारीसहित नेताहरुलाई स्पष्ट रुपमा निर्देशन दिइसकेको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको नेता पौडेलले बताए । पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गर्दा आफूले सफलता प्राप्त नगरेको बताउँदै १५औँ महाधिवेशनमा पनि महामन्त्री पदमै प्रतिस्पर्धा गर्ने जानकारी गराए ।