काठमाडौं,कस्मेटिक्स, सौन्दर्य तथा वेलनेस क्षेत्रसम्बन्धी नेपालकै पहिलो तथा एकमात्र वृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ यही डिसेम्बर २६ देखि २८ (पौष ११, १२ र १३) गतेसम्म काठमाडौंको नक्सालस्थित अम्रपाली ब्याङ्क्वेट सेन्टरमा आयोजना हुने भएको छ।
हाउस अफ राजकर्निकारद्वारा आयोजना हुने उक्त ट्रेड शो नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्यूटिसियन प्रोफेशनल एसोसिएसन अफ नेपालको सहयोगमा सञ्चालन हुन लागेको हो। कार्यक्रममा वाव म्यागजिन मिडिया पार्टनर, वेवसर्फर आईएसपी पार्टनर तथा सागर आर्ट सर्भिस प्रिन्ट पार्टनरका रूपमा रहेका छन्।
कस्मेटिका २०२५ ले सौन्दर्य तथा वेलनेस क्षेत्रसँग सम्बन्धित ब्रान्ड, उत्पादक, आयातकर्ता, वितरक, आपूर्तिकर्ता तथा व्यवसायीहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्य राखेको छ। बी–टु–बी र बी–टु–सी दुवै वर्गलाई लक्षित गरिएको यस एक्स्पोमार्फत कस्मेटिक्स उद्योगका नयाँ उत्पादन, सेवा, प्रविधि र ट्रेन्डको प्रदर्शनी गरिनेछ।
विविध क्षेत्रका प्रदर्शक र आगन्तुक
एक्स्पोमा कस्मेटिक ब्रान्ड, स्किनकेयर तथा हेयरकेयर कम्पनी, पर्सनल केयर र वेलनेस ब्रान्ड, प्याकेजिङ कम्पनी, कस्मेटिक टेक्नोलोजी संस्थाहरू, ब्यूटी स्कूल, प्लास्टिक सर्जरी, हेयर इम्प्लान्ट, डेन्टल केयर तथा कस्मेटिक क्लिनिकहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
त्यस्तै, आगन्तुकका रूपमा उत्पादक, आयातकर्ता, वितरक, खुद्रा विक्रेता, सलुन सञ्चालक, ब्यूटी कन्सल्टेन्ट, छाला रोग विशेषज्ञ, प्लास्टिक सर्जन तथा कस्मेटिक डेन्टिस्टहरू सहभागी हुनेछन्।
प्रदर्शनीसँगै विशेष कार्यक्रम
कस्मेटिका २०२५ लाई केवल उत्पादन र सेवाको प्रदर्शनीमा सीमित नराखी सौन्दर्य तथा वेलनेसको उत्सवका रूपमा प्रस्तुत गरिने आयोजकको भनाइ छ। कार्यक्रममा सौन्दर्य तथा वेलनेस क्षेत्रमा योगदान पुर्याएका महिलाहरूलाई सम्मान गर्ने ‘हल अफ फेम’, निःशुल्क ट्रायल तथा स्याम्पल वितरण, ब्रान्ड लन्च, लाइभ मेकअप तथा हेयर स्टाइलिङ डेमो, स्किनकेयर तथा हेयरकेयरसम्बन्धी कार्यशाला र सेमिनार, साथै विज्ञहरूसँग प्रत्यक्ष परामर्शको व्यवस्था रहनेछ।
वाव म्यागजिन, सायम ब्यूटी पार्लरकी कमला श्रेष्ठ, बोस ब्यूटी एकेडेमीकी सुनिता श्रेष्ठ, ट्रु डर्माका विज्ञान जोशी, इसास ब्यूटीलगायतका प्रस्तुति तथा सत्रहरू एक्स्पोका प्रमुख आकर्षण हुने जनाइएको छ।
तेजीमा बढ्दो कस्मेटिक्स बजार
पछिल्लो एक दशकमा नेपालमा कस्मेटिक्स तथा पर्सनल केयर बजार उल्लेखनीय रूपमा विस्तार भएको छ। उद्योगका तथ्यांकअनुसार हाल यस क्षेत्रको कुल बजार मूल्य करिब २३.६ अर्ब रुपैयाँ पुगेको छ भने सन् २०२५ सम्म आयात २०.४ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
भारत, चीन, थाइल्याण्ड, दक्षिण कोरिया, जापान, युरोपेली संघ तथा अमेरिकाबाट आयात हुने यी उत्पादनहरूको बजार वार्षिक २० देखि २५ प्रतिशतको दरले वृद्धि भइरहेको छ। यस्तो अवस्थामा कस्मेटिका २०२५ उत्पादक, वितरक तथा सरोकारवालाहरूका लागि बजार विस्तार, ज्ञान आदान–प्रदान र नेटवर्किङको महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।