काठमाडौं , राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा प्रधानमन्त्रीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच मंगलबार बसेको बैठक सकिएको छ। बैठकमा फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण बनाउने समझदारी जुटेको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
मंगलबार अपराह्न राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच छलफल भएको थियो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनको वातावरण बनाउन थप विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बैठकमा बनेको छ।बैठकका क्रममा राष्ट्रपति पौडेलले देशको अवस्था गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै त्यसको निकासका लागि निर्वाचन अपरिहार्य भएको बताएका थिए।
‘देशको परिस्थितिमा आएको जटिलताबाट निकास दिन चुनावको घोषणा गरिएको हो। यस गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउनु हामी सबैको साझा दायित्व हो,’ राष्ट्रपतिले बैठकमा भनेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।