काठमाडौँ । सरकारले वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले लिने परीक्षण शुल्क सरकारले साबिककै दरमा राखेको छ । योसँगै व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी ९ हजार ५०० बनाएको थियो । जुन यसअघिको ६ हजार ५०० शुल्कमा वृद्धि भएको थियो । त्यो शुल्कले वैदेशिक रोजगारमा जाने कामदारलाई भार परेको भन्दै व्यावसायीहरूले चौतर्फी विरोध जनाएका थिए ।
श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले अत्यन्त चर्को शुल्क भएको महशुस गरेर कामदारको हितका लागि वृद्धि भएको भन्दै शुल्क खारेज गरिएको बताए । उनले अन्तराष्ट्रिय आप्रवासन दिवसको दिन अनावश्यक स्वास्थ्य परीक्षण शुल्क लिने निर्णय खारेज गरिने बताएबमोजिम मन्त्रालयले यही पुस ४ गते शुल्क वृद्धि गर्ने निर्णय खारेजी गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा वृद्धि गरेको शुल्क खारेज गरेर साविककै शुल्क लागू हुने भनिएको छ ।
मन्त्रालयले ३४ वटा स्वास्थ परीक्षण आवश्यक भएको भन्दै ९ हजार ५०० शुल्क बनाएको भए पनि जुन गन्तव्य मुलुकहरूमा सबै जाँच गर्न आवश्यक नरहेको वैदेशिक रोजगार संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।