काठमाडौं । नेपालले ५ महिनामा करिब नौ खर्बको वैदेशिक व्यापार गर्दा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको छ ।
गत वर्ष यही अवधिमा नेपालले सात खर्ब ३५ अर्ब १४ करोड ८३ लाख ६५ हजारको व्यापार गर्दा ७३ अर्ब ६५ करोड ९७ लाख ७१ हजारको निर्यात गरेको थियो । यो ५ महिनामा आयात १५.८३ प्रतिशत र निर्यात ५८.१७ प्रतिशतले बढेको हो ।
मंसिरसम्म सात खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात भएको विभागले जनाएको छ । गत वर्ष यही अवधिमा छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजारको आयात भएको थियो । योसँगै व्यापार घाटा समेत १०.५१ प्रतिशतले बढेको छ । गत वर्षको ५ महिनामा वैदेशिक व्यापारबाट पाच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख २२ हजारको घाटा नेपालले यस वर्ष छ खर्ब ४९ अर्ब ६८ करोड एक लाख ५६ हजार पुगेको छ ।
यस अवधिमा कुल व्यापारमा निर्यातको हिस्सा ३१.७३ प्रतिशतले बढ्दा आयातको हिस्सा ३.५३ प्रतिशतले ऋणात्मक रहेको छ। आयातनिर्यात अनुपात पनि ५ महिनामा २६.७७ प्रतिशतले ऋणात्मक देखिएको छ ।