काठमाडौं । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने विषयमा सरकार र प्रमुख दलबीच समझदारी भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार अपराह्न प्रधानमन्त्री सुुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलमा यस्तो समझदारी जुटेको हो । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ । छलफलमा राष्ट्रपति रामचन्दै पौडेलले देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएको बताएका थिए । ‘यो गाम्भीर्यलाई ध्यानमा राखेर निर्वाचन सफल बनाउनेतर्फ लाग्नु हामी सबैको दायित्व हो’, राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि निर्धारण भएको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रधानमन्त्रीसहित मुख्य तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका थिए ।