काठमाडौं । ग्लोबल आईएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएसन नेपालबीच पुष्प खेती तथा आलड्ढारिक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सोको लागि सहज कर्जा प्रणालीको विकास गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो ।
सम्झौँतामा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरू लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो । साथै, फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्ना सदस्यहरूलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ । यसबाट व्यवसायी तथा कृषकहरूको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरूको प्रबर्द्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ ।