ढाका । एसियाली विकास बैंक र बंगलादेश सरकारले देशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने ३५ किलोमिटर लामो रेलमार्ग स्तरोन्नति गर्ने उद्देश्यले कुल ६८ करोड ८० लाख अमेरिकी डलरबराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।
एसियाली विकास बैंकका अनुसार यस परियोजनामार्फत ढाका–चट्टोग्राम–कक्सबजार मार्गमा सहज, सुरक्षित र प्रभावकारी यातायात सञ्जाल विकास गरिनेछ, जसले क्षेत्रीय यातायात क्षमतामा वृद्धि गर्नुका साथै आर्थिक गतिविधिलाई गति दिने अपेक्षा गरिएको छ ।
ढाकामा आयोजित हस्ताक्षर समारोहमा बंगलादेश सरकारका आर्थिक सम्बन्ध विभागका सचिव मोहम्मद शाह्रिआर कादेर सिद्दिकी र बंगलादेशका लागि एसियाली विकास बैंकका देशीय निर्देशक हो युन जोङले आ–आफ्नो तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । समारोहमा बोल्दै जोङले यो परियोजनाले ढाका र कक्सबजारबीचको रेल सेवालाई अझ मजबुत, भरपर्दो र प्रभावकारी बनाउने तथा सडक यातायातबाट रेल यातायाततर्फको रूपान्तरणलाई प्रोत्साहन गर्ने बताए ।
एसियाली विकास बैंकका अनुसार ट्रान्स–एसिया रेल सञ्जालको महत्वपूर्ण हिस्सा रहेको ढाका–चट्टोग्राम–कक्सबजार मार्गबाट हाल कुल यात्रु आवागमनको ३२ प्रतिशत र मालसामान ढुवानीको ५५ प्रतिशत सञ्चालन भइरहेको छ । यसले बंगलादेशको दक्षिणपूर्वी क्षेत्र मात्र नभई समग्र आर्थिक एकीकरण र विकासका लागि रेल पूर्वाधारको महत्व स्पष्ट रूपमा देखाउँछ ।