काठमाडौं । नेपाल ट्रस्टको जग्गा ठगीका अभियुक्तद्वय पूर्वसचिव अर्जुनकुमार कार्की र पूर्वसहसचिव लेखबहादुर कार्की धरौटीमा रिहा हुने भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश रामचन्द्र खड्काको इजलासले पूर्वसहसचिव कार्कीसँग १० लाख र पूर्वसचिव कार्कीसँग छ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न बुधबार आदेश दिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरी दिएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस २ मा उनीहरु दुईसहित यस प्रकरणमा जोडिएको थामसेर्कु ट्रेकिङ प्रालि र यसका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाविरुद्ध मुद्दा दायर गरेको थियो । उनीहरूले नेपाल ट्रस्टलाई छ अर्ब ४५ करोड ६६ लाख ३७ हजार नौ सय ९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार दुई सय चार रुपैयाँ ६० पैसामा सम्झौता गरेको र सम्झौता नियमसंगत नदेखिएको तथा ठगी गरेको पाइएको भन्दै मुद्दा हालिएको थियो ।
२०७४ जेठ १४ गते नेपाल ट्रस्टको जग्गामा भाडाबापत एक अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार नौ सय २७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार दुई सय चार रुपैयाँ ६० पैसामा सम्झौता भएको थियो । नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित कित्ता नं. ४६०६ को १–१४–०–३.५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिबीच निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो । कार्कीद्वयले आफ्नो पद र ओहदाको गैरकानुनी लाभ लिई ठगी, आपराधिक विश्वासघात गरेको आरोप छ ।