काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वको लागि आगामी पुस ५ गते निर्वाचन हुने भएको छ । नाडाको बुधबार सम्पन्न ४९औँ वार्षिक साधारणसभाले पुस ५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।
साथै सभाले नाडालाई महासंघमा लैजाने प्रस्तावलाई पनि पारित गरेको छ । साधारणसभाले संस्थाका विभिन्न एजेन्डाहरूलाई सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको नाडाले जनाएको छ । साथै आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्र बनाउने, अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालन गर्ने, सदस्यहरूको उच्च अनुशासन र व्यवस्थित व्यवस्थापन गर्ने लगायतका विषयमा सभामा छलफल भएको नाडाद्वारा जारी विज्ञेप्तीमा उल्लेख छ । संस्थामा हाल एक हजार पाँच सय ४८ सदस्यहरू रहेका छन् । तीमध्ये एक हजार चार सय ८३ जना सदस्यहरूको सभामा प्रत्यक्ष उपस्थिति रहेको जनाइएको छ ।