सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले देशमा सुशासन कायम गर्नको लागि पनि निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।
गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा संयुक्त रूपमा आयोजना गरिएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पु¥याइ शासनको वैधानिकता प्रदान गर्ने बताए । उनले निर्वाचन नभए देश थप अस्थिरतातर्फ धकेलिन सक्ने बताए । आवधिक निर्वाचन नै सुशासनको आधार भएको र ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्ने उनको भनाइ छ । मन्त्री अर्यालले सुशासन दिन नसकिएमा अर्को विद्रोहको अवस्था सिर्जना हुने बताए । द्वन्दको अवस्था सिर्जना हुन नदिन नयाँ पुस्ता र उनीहरूका जायज माग बेलैमा सम्बोधन गरिनुपर्नेमा उनले जोड दिए ।
निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको नागरिक सरकार मूलतः सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको उनको दाबी छ । साथै उनले हालै भएको सर्वपक्षीय छलफलबाट पनि आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा तोकिएकै मितिमा सम्पन्न गर्ने गरी साझा प्रतिबद्धता जाहेर भएको उल्लेख गरे । कर्णाली प्रदेश भौगोलिक रूपमा विकट, संवेदनशील र रणनीतिक महत्त्व बोकेको क्षेत्र भएकोले गोष्ठीमा प्रदेशको सुरक्षा चुनौती विश्लेषण गर्ने, त्यसका लागि आवश्यक रणनीति तय गर्ने, निर्वाचनका लागि गरिएका र अझ गर्नुपर्ने तयारीबारे खुलेर छलफल गरी निष्कर्षमा पुग्ने उनले बताए ।
कार्यक्रममा कर्णाली प्रदेशका मुख्य मन्त्री यामलाल केडेलले प्रदेश सरकार आगामी निर्वाचनका लागि संघीय सरकारलाई साथ सहयोग गर्न तत्पर रहेपनि अहिले नै निर्वाचनको वातावरण बनिनसकेको बताए । राजनीतिक दल र दलीय व्यवस्थालाई नजर अन्दाज गर्दै गएमा प्रदेशमा आगामी निर्वाचन गर्न चुनौती हुने उनको धारणा थियो । गोष्ठीमा प्रदेशका १० वटै जिल्लाहरूबाट जिल्ला सुरक्षा समितिका पदाधिकारी सहभागी थिए ।