काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालकै पुँजी प्रयोग गरेर ठूला परियोजनाहरू सञ्चालन गर्न सकिने बताएका छन् ।
काठमाडौँमा आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रबद्र्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले नेपालमा लगानीमा सम्भावनाहरू धेरै रहेको बताउनुभयो । तर नेपालमा केही नहुने भन्ने भाष्य सिर्जना गर्न खोजिएको उहाँको भनाइ छ । नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँ नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरि काम भइरहको उनले जानकारी दिए । उनले आन्तरिक बचतलाई एकिकृत गर्न तथा उद्यमशीलताको लागि आवश्यक पुँजी व्यवस्था दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए ।
अध्यक्ष ढकालले विशेषगरी कोरोना महामारीपछि पर्यटन क्षेत्र आन्तरिक रूपमा उल्लेखनीय रूपमा बढेको उल्लेख गरे । नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रबर्द्धन आवश्यक भएको उनको भनाइ छ । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको उनले बताए । होमस्टे, तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रबद्र्धन भइरहेको उनको भनाइ छ । ‘पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपी पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ’, उनले भने । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको उनको भनाइ छ । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाउन पु¥याएको उनले बताए । अध्यक्ष ढकालले महासंघले पनि महिलाहरूको उद्यमशीलताको विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न महासंघले विधान संशोधन गरि महिला सहभागिता अभिवृद्धिका लागि पहल गरको समेत उनले जानकारी दिए ।
कार्यक्रममा एक्याड नेपालकी प्रमुख कार्यकारी अधिकृत दुर्गा थापाले पर्यटन क्षेत्रको पुनरुत्थान र रूपान्तरणका केन्द्रमा लैङ्गिक उत्तरदायित्व, दिगोपन र सहनशीलतालाई राख्नु आजको आवश्यकता भएको बताइन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले पर्यटन पुनरुत्थान र वृद्धिमा लैङ्गिक उत्तरदायित्वलाई मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए । समुदाय तहमा महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमहरू नेपालको पर्यटन प्रणालीका मेरुदण्ड रहेको उनको भनाइ थियो । महिला उद्यमी सशक्तिकरण विना दिगो पर्यटन विकास सम्भव नरहेको उनले बताए ।
कार्यक्रममा लैङ्गिक उत्तरदायी पर्यटन उद्यमशीलता तथा उद्यम दिगोपन र महिला नेतृत्वमा सञ्चालित पर्यटन उद्यमको सहनशीलता अभिवृद्धि विषयमा केन्द्रित दुई मुख्य सत्रहरू सञ्चालन गरिएका थिए । सहभागीहरूले आर्थिक, जलवायु तथा बजारसम्बन्धी जोखिमहरूसँग जुध्न सक्ने नीतिगत उपाय, असल अभ्यास र उद्यम तहका रणनीतिबारे विचार आदान–प्रदान गरेका छन् । एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहल अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा नीति सम्बाद आयोजना गरिएको हो ।