काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सेयर लगानीकर्ताहरूलाई लक्षित गर्दै ‘फास्ट लोन अगेन्स्ट सेयर’ नामक नयाँ डिजिटल प्लेटफर्म सार्वजनिक गरेको छ । बैंकका अनुसार यो सुविधामार्फत अब ग्राहकहरूले आफूसँग भएको सेयर धितो राखी अत्यन्त सरल र सहज प्रक्रियाबाट अनलाइनमार्फत नै कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले आफ्ना सेवाहरूलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने उद्देश्य अनुरूप यो प्लेटफर्म सञ्चालनमा ल्याएको हो । यस डिजिटल प्रणालीअन्तर्गत ग्राहकहरूले कर्जाको आवेदन दिने र आवश्यक कागजातहरू बुझाउने कार्य अनलाइनबाटै सम्पन्न गर्न सक्नेछन् । आवेदन दिएपछि ग्राहकले आफ्नो निवेदनको अवस्थाको बारेमा आफैँले ट्रयाक गरी जानकारी लिनसमेत सक्ने व्यवस्था मिलाइएको छ ।
कर्जा स्वीकृतिको अन्तिम चरणमा पुगेपछि कागजातहरूमा हस्ताक्षर गर्नका लागि मात्र ग्राहकले एक पटक बैंकको शाखा कार्यालयमा उपस्थित हुनुपर्नेछ, जसले गर्दा समय र झन्झट दुवै कम हुने बैंकको विश्वास छ । बैंकले यो सेयर धितो कर्जाको सीमा न्यूनतम पाँच लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकेको छ । यस कर्जाका लागि धितो राखिने सेयर निवेदक स्वयंको नाममा हुनुपर्ने र अन्य व्यक्तिको सेयर स्वीकार नगरिने प्रावधान रहेको छ । हाललाई बैंकको ३१ वटा विभिन्न शाखा कार्यालयहरूबाट यो सुविधा उपलब्ध गराइएको छ । कर्जा लिन इच्छुक ग्राहकले अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा छनौट गर्न सक्नेछन् । बैंकको ‘डिजिटल युनिभर्स’ मार्फत पनि यो सेवा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।