काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टस एन्ड म्यान्यूफ्याकचरर्स एसोसिएसन (नाइमा)ले यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई गरेको आपत्कालीन सहयोग हस्तान्तरण गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति भएको विभाग र कार्यलयलाई नाइमाले आपत्कालीन सहयोग गरेको थियो । नाइमा अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक राजकुमार दुलालसहितको टोलीले मंगलबार ती सहयोगहरूलाई औपचारिकरूपमा हस्तान्तरण गरेको हो । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपत्कालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताए । सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालयबाट नियमित सेवा सञ्चालन गर्न सक्षम भएको उनको भनाइ थियो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा सदस्यस्तरको आपत्कालीन सहयोगको प्रशंसा गरेका थिए । उनले स्थापनाको छोटो अवधिमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारीको आधार निर्माण गर्न सफल भएको बताए । नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूलाई सघाउन पाएकोमा गौरवको अनुभूति भएको बताइृन् । उनले सार्वजनिक निकायसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको उल्लेख गर्दै आगामी दिनमा यस्तो सहकार्यलाई अझ सुदृढ बनाउँदै लगिने प्रतिबद्धता जनाइन् ।
नाइमाका कार्यकारी निर्देशक दुलालले यातायात व्यवस्था विभाग, मीनभवनस्थित मुख्य भवनका सम्पूर्ण झ्याल र ढोकाको पुनर्निर्माण गरिएको तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई फर्निचर, फर्निसिङ सामग्री, कम्प्युटर, प्रिन्टरलगायत आवश्यक उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए ।