विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग करिब चार अर्ब १० करोड अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गरेको छ ।
सार्वजनिक खर्चको अनुगमन गर्ने सरकारी निकाय स्टेट अडिट ब्युरोले सोमबार जानकारी दिँदै बौब्यान टापुमा निर्माणाधीन मुबारक अल–कबीर बन्दरगाह परियोजना पूरा गर्न इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) सम्झौताअन्तर्गत करिब एक अर्ब २८ करोड कुवेती दिनार अर्थात् चार अर्ब १६ करोड ४० लाख अमेरिकी डलर खर्च हुने जनाएको छ ।
राज्य सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री शेख अहमद अल–अब्दुल्लाह अल–अहमद अल–सबाह बौब्यान टापुमा मुबारक अल–कबीर बन्दरगाह निर्माणका लागि इन्जिनियरिङ–आपूर्ति–निर्माण सम्झौतामा हस्ताक्षर गर्ने औपचारिक समारोहमा उपस्थित थिए । उनले यो परियोजना कुवेतका लागि रणनीतिक महत्त्वको रहेको उल्लेख गर्दै यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय व्यापारमा देशको उपस्थिति सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री अल–सबाहका अनुसार मुबारक अल–कबीर बन्दरगाह सम्पन्न भएपछि कुवेतको भूमिका विश्वव्यापी आपूर्ति शृंखलामा अझ मजबुत हुनेछ र देशलाई व्यापारिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।
कुवेतस्थित चिनियाँ कार्यवाहक प्रभारी लिउ सियाङले यो सम्झौता चीनको ‘बेल्ट एन्ड रोड’ पहलअन्तर्गत सहयोगको महत्त्वपूर्ण उदाहरण भएको बताए । उनले यस परियोजनाले कुवेत र चीनबीचको आर्थिक तथा पूर्वाधार सहकार्यलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । यसअघि सन् २०२३ मा कुवेतले मुबारक अल–कबीर बन्दरगाह, आवास विकास, पानी प्रशोधन तथा नवीकरणीय ऊर्जा जस्ता परियोजनाहरूमा चीनसँग सातवटा समझदारी पत्रमा हस्ताक्षर गरिसकेको छ । रासस÷एएफपी