काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजनीतिक भेटघाट तीव्र पारेका छन् । देशमा उत्पन्न विशेष परिस्थितिका बीच केन्द्रमा उदाएका उनले निर्वाचन नजिकिएसँगै राजनीतिक भेटघाटलाई तीव्रता दिएका हुन् । सो क्रममा उनले बिहीबार पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराईलगायतसँग भेट गरेका थिए ।
ललितपुरस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भट्टराईसँग नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने विषयमा छलफल गरेको उनीनिकट स्रोतले बतायो । भेटपछि संरक्षक भट्टराईले भने नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्नेमा जोड दिएको उल्लेख गरे । उनले भने, ‘मेयर शाहलाई आवश्यक सुझाव दिएको छु, उहाँले सकारात्मक रूपमा लिनुभएको छ ।’
त्यसैगरी, बिहीबार नै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने र मेयर शाहबीच पनि छलफल भएको थियो । उनीहरूबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो । शाहले यही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग पनि भेट गरेका थिए । उनीसँग मेयर शाहले मिलेर अघि बढ्ने समझदारी गरेका थिए ।
यही दिन मेयर शाहले नेपाली कांग्रेसका नेता सुनिल शर्मा, अमरेशकुमार सिंह, रक्षा बमसहित जेनजी प्रतिनिधिलगायतसँग भेट गरी आगामी निर्वाचनका विषयमा छलफल गरेका थिए । भदौ २४ मा तत्काली ओली सरकारले सत्ता छोडेपछि भएको रिक्ततामा आन्दोलनकारी पक्षबाट तत्कालीन समयमा बालेनको बोलावट भएको थियो । तर उनी मौन बसेका थिए । अहिले भने उनले सक्रियता जनाएका हुन् ।