विराटनगर । विराटनगरको क्यासिनोमा गैरकानुनी रूपमा जुवा खेलाउने र खेल्नेहरूलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूलाई कम कारबाही गराउन र छुटाउनका लागि ब्यापक चलखेल सुरू भएको छ ।
विराटनगरको बिग होटलमा सञ्चालित च्याम्पियन जोन र रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोबाट प्रहरीले गत आइतबार मध्यरात छापा मारेर सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका क्यासिनो सञ्चालकलाई अनुसन्धान प्रक्रिया छिटो सिध्याएर अदालतबाट धरौटीमा रिहा गराउन राजनीतिक दलका प्रतिनिधिले चलखेल गरेको खुलेको छ । विदेशीलाई लक्षित गरेर खोलिएका यहाँका तारे होटलका क्यासिनोमा नेपालीलाई प्रवेश नै दिन नमिल्ने जाँन्दाजाँन्दै गैरकानुनी रूपमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाइएको थियो । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट दुलामा पसेका राजनीति दलका ठुटे नेताहरू यो क्यासिनो प्रकरणसँगै फेरि सलबलाउन थालेका छन् । नेता सलबलाउन थालेसँगै तिनै राजनीतिक दलका नेताहरूको संरक्षणमा दुवै क्यासिनो निर्वाध रूपमा नेपालीलाई प्रवेश गराएर सञ्चालन भइरहेको पनि प्रहरी स्रोतले जनाएको छ ।
च्याम्पियन जोन क्यासिनोका सञ्चालकद्वय रामकृष्ण गौतम र हरि भट्ट तथा गोल्डेन क्वाइन क्यासिनोका जेनेरल म्यानेजर लोकेन्द्रबहादुर बस्नेत, क्यासिनो खेलाडी पुसेट कलेज विराटनगरका निर्देशक तेजराज गिरीलगायतका खेलाडीहरू अहिले पनि मोरङ प्रहरीको थुनामा छन् । प्रहरीसँगको मिलेमतो नै हुने गरेकाले यसअघि क्यासिनोका सञ्चालक पक्राउ पर्ने गरेका थिएनन् । उनीहरूलाई गत सोमबारदेखि लागू हुनेगरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिएको छ । उता यो सात दिनभित्रै अनुसन्धान सकेर अदालतबाट धरौटीमा रिहा गराउने विषयमा जिल्लाका केही ठूला राजनीति दलका केही स्थानीय नेतादेखि प्रदेश र केन्द्रीय तहका नेताहरूलेसम्म चलखेल गरेको दाबी स्रोतको छ । यता मोरङ प्रहरीकी प्रहरी नायव उपरीक्षक कोपिला चुडालले प्रहरीको अनुसन्धान जारी रहेको बताएकी छिन् । नेपालीलाई क्यासिनोमा जुवा खेलाएर धेरैको घर बर्बाद हुँदै गएको कुरा सार्वजनिक भएपछि मात्रै प्रहरीले एकैसाथ दुवै क्यासिनोमा छापा मारेको थियो । छापा मार्दा एउटा क्यासिनोबाट धेरै मानिसले भाग्ने मौका पाएका थिए । रत्ना होटलमा छापा मारेको खबर बिग होटलमा पुगेपछि त्यहाँबाट ठूलो संख्यामा नेपाली जुवाडेलाई बिग होटलका क्यासिनो सञ्चालकले भगाएको स्रोतको दाबी छ ।