काठमाडौँ । सुनचाँदीको मूल्य स्थानीय बजारमा पछिल्ला केही दिनयता लगातार बढीरहेको छ । दुवै धातुको मूल्य शुक्रबार पनि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार ३०० र त्यति नै चाँदीको मोल चार हजार ५८५ कायम भइ दुवै धातुको मूल्य हालसम्मको उच्च रहेको जनाएको छ ।
छापावाल सुन गत बुधबार प्रतितोला दुई लाख ६८ हजार १०० मा र चाँदी चार हजार ४२० मा कारोबार भएको थियो भने भोलि पल्ट बिहीबार दुवै धातुको मूल्यमा सामान्य गिरावट आएको थियो ।
अन्तरराष्ट्रिय बजारमा शुक्रबार एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी डलरको भाउ बढेसँगै सुनचाँदीको मूल्य पनि बढेको विश्लेषकहरूले बताएका छन्