काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा उद्योग वा फर्मलाई नगद जरिबाना गरेको छ । विभागले जुली केक एन्ड पेस्ट्री ललितपुर र जिरी खिम्ती होटल रेस्टुरेन्टलाई पाँच हजार जरिबाना गरेको छ ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ ‘क’बमोजिम कारबाही गरिएको जनाएको छ । यस्तै, विभागले अन्य १२ वटा उद्योग वा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । काठमाडौं र ललितपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा नियमित अनुमगन भइरहेको विभागले उल्लेख गरेको छ ।
चाडबाडको समयमा मात्रै अनुमगन गरेको भन्ने गुनासो नआओस् भनेर विभागले पछिल्ला दिनमा नियमितरूपमा अनुमगन, निरीक्षण, जरिबाना तथा सुधारात्मक निर्देशन दिँदै आएको छ । बजारको स्वच्छता कायम राख्ने, कालाबजारी नियन्त्रण गर्ने, खाद्य पदार्थमा अखाद्य पदार्थ मिसिन नदिन सचेततापूर्वक अनुमगन गरिएको विभागले जनाएको छ । स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी र जनप्रतिनिधिको उपस्थितिमा बजार अनुमगन हुँदा कानुन कार्यान्वयनमा सहज भएको विभागको दाबी छ ।