पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताएका छन् । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आइतबार यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीतिक दल निर्वाचनका लागि तयार रहेको उल्लेख गर्दै देशलाई स्थायित्व दिन समयमै निर्वाचन हुनु अपरिहार्य भएको राससलाई बताए ।
“यतिबेला मुलुक परिवर्तनको मोडमा छ, मुलुकलाई नयाँ ऊर्जाका साथ समुन्नतिको दिशामा अगाडि बढाउनुपर्छ, जेनजीको भावनाअनुरुप मुलुक र समाज परिवर्तन गर्नु अहिलेको आवश्यकता हो”, उनले भने । उनले दलका नेताको दासका रुपमा नभइ विचारका आधारमा नेतृत्व छान्न पनि आग्रह गरे ।
“नयाँ राजनीतिक दलहरु मिल्दै छन्, पुराना दलहरु पनि अब गठबन्धन गर्न सक्छन्, यसले मुलुकमा निर्वाचनको वातावरण बनेको छ, म यहाँबाट चुनावका सन्दर्भमा द्विविधा नराख्न आग्रह गर्दछु, मुलुक चुनावका लागि अगाडि बढिसकेको छ”, उनले भने ।
त्यस अवसरमा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार जरुरी रहेको बताए । संस्थाको सर्वोपरी हितलाई ध्यानमा राख्दै टेलिकमलाई अझ व्यावसायिक, प्रतिष्पर्धी र युग सुहाउँदो बनाउनुपर्नेमा उनले जोड दिए ।
कर्मचारीको वृत्तिविकास र सेवाप्रवाहलाई प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिँदै उनले टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिए ।