काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ लागेको डेढ महिनापछि नै मुलुकमा आन्दोलनको नाममा व्यक्तिगत सम्पत्तिमाथि तोडफोड, लुटपाट, आगजनीजस्ता अपराध बढेपछि बीमा गर्ने प्रवृत्ति बढेको देखिएको छ । चालू आर्थिक वर्षको पाँच महिनामा निर्जीवन बीमा कम्पनीहरूले करिब २० अर्ब रुपैयाँ संकलन भएको कारण बीमा गर्नेको संख्यामा बढोत्तरी भएको हो। उनीहरूले निर्जीवन बीमा लेख जारी गरी १९ अर्ब ९८ करोड रुपैयाँ संकलन गरेका हुन् । जीवनभर मिहिनेत गरेर जोडेको सम्पत्तिमाथि राजनीतिक आवरणमा आक्रमण भएर क्षति हुन थालेपछि बीमामा धेरैको ध्यान जान थालेको साउनदेखि मंसिर मसान्तसम्मको तथ्यांकले देखाएको छ ।
नेपाल बीमा प्राधिकरणका अनुसार चार लघुसहित १८ निर्जीवन बीमा कम्पनीहरूले मंसिरसम्म १३ लाख ४१ हजारवटा बिमालेख जारी गरेका छन् । यसबाट बीमा शुल्कबापत उक्त रकम संकलन भएको छ । यसले निर्जीवन बीमाप्रति बीमितको आकर्षण बढ्न थालेको देखिएको छ । बीमा कम्पनीहरूले मंसिरमा मात्रै तीन लाख नौ हजारवटा बीमालेख जारी गरेका छन् । यो चालू आवकै सबैभन्दा धेरै हो । साउनयता निर्जीवन बिमा कम्पनीहरूले तीन लाखवटाभन्दा माथि बीमालेख जारी गर्न सकेका थिएनन् । साउनमा दुई लाख ४३ हजारवटा, भदौमा दुई लाख ४६ हजार, असोजमा दुई लाख ९० हजार, कात्तिकमा तीन लाख ५१ हजार र मंसिरमा तीन लाख नौ हजारवटा बीमालेख कम्पनीहरूले बिक्री गरेका थिए । साउन र भदौमा उस्तै संख्यामा बीमालेख बिक्री गरेका कम्पनीहरूले भदौमा नै भएको जेनजी प्रदर्शनपछि भने तुलनात्मकरूपमा धेरै बीमालेख बिक्री गर्न सफल भएको प्राधिकरणले जनाएको छ ।
गत वर्षको मंसिरसम्ममा निर्जीवन बीमा कम्पनीहरूले कुल १२ लाख ७० हजारवटा बीमालेख बिक्री गरेर बीमितबाट १७ अर्ब ५१ करोडबरारबरको बीमाशुल्क संकलन गरेका थिए । गत वर्षको तुलनामा बीमालेख बिक्री बढ्दा कम्पनीहरूको व्यपार पनि पुनः चलायमान हुन थालेको संकेत यो कारोबारले दिएको छ । पाँच महिनामा १९ लाख बीमालेखमध्ये सबैभन्दा धेरै सम्पत्ति बिमालेख बिक्री भएका छन् । यो अवधिमा एक लाख ९० हजारवटा सम्पत्ति बिमालेख जारी हुँदा लघुतर्फ एक लाख ८२ हजार, सामुद्रिक बीमातर्फ एक लाख ६५ हजार, कृषि तथा बालीतर्फ ६७ हजार, विधितर्फ ६४ हजार, मोटरतर्फ ६६ हजार र हवाईतर्फ १०२ वटा बीमालेख बिक्री भएका छन् । त्यस्तै, इन्जिनियरिङ तथा ठेक्कातर्फ भने सात हजारवटा बीमालेख जारी भएको प्राधिकरणले उल्लेख गरेको छ ।
१९ बीमा कम्पनीको वित्तीय विवरण स्वीकृत
नेपाल बीमा प्राधिकरणले हालसम्म १९ वटा बीमा कम्पनीहरूको वित्तीय विवरण स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार विभिन्न १० वटा जीवन बीमा कम्पनी, छवटा निर्जीवन बीमा कम्पनी र तीनवटा लघु बीमा कम्पनी गरी कुल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण स्वीकृत गरिएको हो । बीमा ऐन, २०७९ मा बीमकले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेस गर्नुपर्ने व्यवस्था भएबमोजिम बीमकहरूबाट प्राप्त वित्तीय विवरण प्राधिकरणले स्वीकृत गरेको हो ।
प्राधिकरणबाट आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण स्वीकृत भएका बीमा कम्पनीहरूमध्ये जीवन बीमातर्फ सिटिजन लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सानिमा रिलायन्स लाइफ इस्योरेन्स लिमिटेड, नेसनल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, प्रभु महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, रिलायवल नेपाल लाइफ इस्योरेन्स कम्पनी लिमिटेड, सूर्यज्योति लाइफ इस्योरेन्स कम्पनी लिमिटेड र एलआईसी (नेपाल) लिमिटेड रहेका छन् ।
यसैगरी, निर्जीवन बीमातर्फ आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण स्वीकृत भएको छ ।यस्तै, लघुबीमातर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत भएको छ । प्राधिकरणबाट इजाजतपत्र लिएका जीवन बीमा कम्पनी १४ वटा, निर्जीवन बीमा कम्पनी १४ वटा, लघु बीमा कम्पनी सात वटा र पुनर्बीमा कम्पनी २ वटा गरी जम्मा ३७ वटा बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् ।