काठमाडौं । अबदेखि चाँदी व्यवसायीहरूले प्रतिपटक अमेरिकी डलर २० लाखसम्मको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार यस्तो व्यवस्था गरेको हो ।
विदेशी विनिमय कारोबार गर्ने वाणिज्य बैंकहरूको नाममा जारी परिपत्रअनुसार उद्योगहरूले यस्तो सुविधा पाएका हुन् । परिपत्रबमोजिम चाँदी आयातमा भुक्तानीको सीमाअन्तर्गत सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्नेछन् ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिनेछ । तर, एक पटक मात्र आयात गर्ने उद्योग र व्यवसायीको हकमा उपर्युक्त सीमा क्रमशः अमेरिकी डलर २० लाख (उद्योगको लागि) र अमेरिकी डलर चार लाख (अन्य व्यवसायीको लागि)को सीमासम्म हुनेगरी सटही सुविधा प्रदान गर्न सकिने परिपत्रमा उल्लेख छ । चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीको हकमा भने निकासी आदेश पुष्टि हुने अग्रीम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश, कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ ।
सोका लागि यस खण्डमा उल्लिखित चोदी आयातमा भुक्तानीको सीमा लागू हुने छैन । सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सोअन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए नभएको यकिन गर्नुपर्नेछ । सम्बन्धित वाणिज्य बैंकबाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लिन बक्यौता नरहेको सम्बन्धी स्वघोषणा चाँदी व्यवसायीसँग लिनुपर्ने परिपत्रमा उल्लेख छ ।
पुरानो व्यवस्थाअन्तर्गत भने चाँदी आयातमा भुक्तानीको सीमाअन्तर्गत सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चापदार्थको रूपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर पाँच लाख वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक अमेरिकी डलर एक लाख वा सोबराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था रहेको थियो । तर, चाँदीको गरगहना कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश दिन सकिने व्यवस्था रहेको थियो ।