काठमाडौं । कोशीमा प्रदेशमा पर्यटनको क्षेत्रमा अपार सम्भावना भएको सरोकारवालाहरुले बताएका छन् । विराट ट्रेड एक्स्पोअन्तर्गत आइतबार पर्यटन उद्योग, अवसर र सम्भावनाबारे विशेष थिमेटिक सेसनमा उनीहरुले पर्यटनको सम्भावना रहेकोले ब्रान्डिङ गर्नुपर्नेमा जोड दिए ।
छलफलमा नेपाल पर्यटन बोर्डकी निर्देशक रोहिणी खनालले नेपालको समग्र पर्यटन अवस्था, सम्भावना र चुनौतीबारे प्रस्तुति दिँदै कृषि, संस्कृति, पदयात्रा र आतिथ्यसँग जोडिएको पर्यटनले जनस्तरसम्म प्रत्यक्ष लाभ पु¥याउन सक्ने बताइन् । पर्यटन सेवामूलक उद्योग भएकाले यसमा दक्ष मानव जनशक्तिको भूमिका महत्वपूर्ण रहेको उनको जोड थियो । नेपाल पर्यटन बोर्ड संघीय संरचनामा रहेर २६ वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रबर्द्धन गर्दै आएको उल्लेख गर्दै उनले आन्तरिक पर्यटन, उत्सव–महोत्सव प्रबर्द्धन र ब्रान्डिङमा समेत बोर्ड सक्रिय रहेको जानकारी दिइन् । ‘नेपालको पर्यटन ब्रान्ड हिमाल हो, तर यससँगै कला, संस्कृति र पदयात्राको अनुभव पनि पर्यटकका लागि ठूलो आकर्षण हो,’ खनालले भनिन् । निजी क्षेत्रले पर्यटनको नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले प्रदेशस्तरमै स्पष्ट ब्रान्ड र आकर्षक प्याकेज विकास गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालले नेपालमा थोरै दूरीमै फरक–फरक मौसम र भूगोलको अनुभव गर्न सकिने अद्वितीय विशेषता रहेको बताए । प्राकृतिक सुन्दरता र धार्मिक महत्वका कारण पर्यटनमार्फत ठूलो मात्रामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना रहे पनि प्रचार–प्रसारको अभाव चुनौती बनेको उनको भनाइ थियो । सामाजिक सञ्जालको प्रभावकारी प्रयोग आजको आवश्यकता भएको उनले बताए । कोशी प्रदेशको पर्यटन सम्भावनाबारे पर्यटन व्यवसायी तथा कोशी पर्यटन वर्ष २०८२ निर्देशन समितिका सहसंयोजक भविषकुमार श्रेष्ठले प्रस्तुति दिएका थिए । उनले कोशी प्रदेशको आधार नै पर्यटन भएको उल्लेख गर्दै प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाबाट अझ धेरै अवसर सिर्जना गर्न सकिने बताए । ‘विभिन्न जातजातिका सांस्कृतिक महोत्सव र उत्सवलाई पर्यटन उत्पादनका रूपमा विकास गर्न सकिन्छ,’ उनले भने ।
भारतसँगको भौगोलिक सामिप्यतालाई अवसरका रूपमा उपयोग गर्दै बिहार, बंगाल र उत्तर प्रदेशबाट पर्यटक भित्र्याउन सकिने र क्रस–बोर्डर टुरिजमको ठूलो सम्भावना रहेको उनको भनाइ थियो । विराटनगर विमानस्थलबाट भुटान, म्यानमार र बंगलादेशसम्म हवाई सम्पर्क विस्तार गर्न सके पर्यटन थप चलायमान हुने उनले बताए । छलफलमा उद्योग वाणिज्य संघका महासचिव आकाश दुलाल हालैका आन्दोलनका कारण होटल क्षेत्रमा भएको क्षति, इन्स्योरेन्स प्रक्रिया जटिल भएको र सरकारी सहुलियत समयमै नपाएको गुनासो गरे । कोशी प्रदेश पर्यटन मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा निजी क्षेत्रले कठिन अवस्थामा पनि धैर्य देखाएको भन्दै प्रदेश सरकारले नीतिगत रूपमा राहत र सहजीकरण गर्ने प्रयास गरिरहेको बताए । प्राकृतिक रूपमा रहेका पर्यटन गन्तव्यको प्रचार मात्र गर्न सके पनि ठूलो उपलब्धि हासिल गर्न सकिने उनको भनाइ थियो । यसमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे ।
आईएसएमटी कलेजकी अध्यापिका श्रृजा पोखरेलले पर्यटन क्षेत्रमा करियरको सम्भावनाबारे विद्यार्थीमा पर्याप्त जानकारी नपुगेको उल्लेख गर्दै नेपालमै अवसर सिर्जना गर्न सकिने सकारात्मक सन्देश दिनुपर्ने बताइन् । होटल एसोसिएसनका केन्द्रीय सदस्य राजन श्रेष्ठले विराटनगरलाई भारतीय पर्यटकका लागि ‘गेटवे’का रूपमा विकास गर्न सकिने बताए । पदयात्रा, साहसिक पर्यटन र होटल उद्योगमा युवाको सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए । कोशी प्रदेशमा ठूला होटलहरूको निर्माण क्रम बढ्दै गएको उनको भनाइ थियो । कार्यक्रममा फस्टाउँदै गएको पर्यटन क्षेत्रलाई कसरी दिगो, प्रभावकारी र समावेशी बनाउने भन्ने विषयमा सरोकारवाला निकायबीच छलफल गरिएको थियो ।