काठमाडौं । नेपाली काँग्रेसले राष्ट्रिय सभाको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । काँग्रेसको राष्ट्रिय सभा संसदीय दलको प्रतिनिधिमण्डलले आइतबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर बैठक बोलाउन माग गरेको हो ।
नेपाली काँग्रेस राष्ट्रिय सभाका प्रमुख सचेतक कृष्णबहादुर रोकाय नेतृत्वमा गएको टोलीले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई भेटेर नेपाली काँग्रेस संसदीय दलको निर्णयका बारेमा जानकारी गराउँदैं यस्तो माग गरेको कांगे्रसले जारी गरेको विज्ञेप्तीमा उल्लेख छ । गत पौष १० गते बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले असंवैधानिक ढङ्गबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाजहरु उठाउने सार्वभौम संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा राष्ट्रिय सभाको बैठक बस्न आवश्यक भएकोले अबिलम्ब राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रिय सभा अध्यक्षलाई सम्बन्धित निकायसँग माग गर्न अनुरोध गर्ने निर्णय गरेको थियो । प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य कमला देवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियार लगायतका सहभागी थिए ।