काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको हो । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको दुई अर्ब ५६ करोड ५२ लाख २४ हजार चार सय ३२ रूपैयाँ मध्येबाट चार प्रतिशतका दरले हुन आउने १० करोड २६ लाख आठ हजार नौ सय ७८ रूपैयाँ बराबरको बोनस सेयर र तीन प्रतिशतका दरले हुन आउने सात करोड ६९ लाख ५६ हजार सात सय ३३ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको कर प्रयोजनको लागि शून्य दशमलव ३६ प्रतिशतका दरले हुन आउने ९४ लाख ५० हजार आठ सय २७ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।