काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले डिस्कभर नेटवर्कसँगको सहकार्यमा नेपालको नेसनल कार्ड स्किम, नेपाल पे कार्डको कमर्सियल रोलआउट सुरू गरेको घोषणा गरेको छ । नेसनल पेमेन्ट स्विच परियोजनाअन्तर्गत नेसनल कार्ड स्विच र नेपाल पे कार्ड पूर्ण रूपमा सञ्चालनमा ल्याइएको हो ।
यसबाट बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपाल पे कार्डहरू नेपाल भरिका एटीएम र पीओएस टर्मिनलमा मात्र नभइ विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ । यो सहकार्य पछि नेपाल पे कार्डका प्रयोगकर्ताहरूले डिस्कभर नेटवर्क च र डिनर्स क्लब इन्टरनेसनलको विश्वभरी संयुक्त रूपमा रहेका एक सय ९० भन्दा बढी देश तथा क्षेत्रहरूमा उक्त कार्डको प्रयोग गर्न सक्नेछन् भने नेपालका मर्चेन्टहरूले ३० भन्दा बढी नेटवर्क एलायन्सहरू तथा डिनर्स क्लब कार्डहरूमा आबद्ध विश्वभरका तीन सय ७८ मिलियनभन्दा बढी कार्डहरूबाट भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूले एनपीएस नेसनल कार्ड स्विच (एनसीएस) र नेपाल पेको प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरिसकेका छन् भने अन्य संस्थाहरू पनि क्रमशः थपिने क्रममा रहेको छ । एनपीएस–एनसीएसमा कार्ड सम्बन्धी कारोबारको अन्तर आबद्धताका साथै राउटिङ, सेटलमेन्ट, डिस्प्युट ह्यानडिलिङ तथा एकीकृत रिपोर्टिङ जस्ता विशेषताहरू रहेका छन् ।
नेपालको भुक्तानी प्रणालीहरूलाई आधुनिकीकरण गर्ने उद्देश्यसहित लागू गरिएको एनपीएस परियोजनाअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस) र क्रस बोर्डर इन्टरफेस (एनपीएलएक्स) नोभेम्बर २०२१ देखि नै कार्यान्वयनमा आइसकेका छन् । एनसीएस र नेपाल पे कार्डले स्वदेशी कार्ड कारोबारमा लागत घटाउने, डाटा लोकलाइजेसन कार्यान्वयन गर्ने तथा डिजिटल इकोसिस्टममा नवप्रवर्तनलाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।