निर्वाचनको दिन नजिकिँदै गर्दा चुनावलाई प्रभाव पार्ने गरी नयाँ–पुराना दलहरू जोडदारसँग गठबनधनमा लागेका छन् । नयाँका गठबनधनले दबाब दिन थालेपछि पुराना दल पनि धमाधम एक–अर्कासँग विलयन वा गठबन्धन गरेर चुनावी माहोल आफ्ना पक्षमा पार्ने क्रम बढ्दो छ ।
यीमध्ये यतिबेलासम्मको पछिल्लो गठबन्धन सर्वाधिक चर्चामा छ । त्यो यस कारण पनि चर्चित भएको हुनुपर्छ, जो दल होइन कुनै व्यक्ति एउटा दलमा आबद्धता भएको र त्यस्तो आबद्धताको सर्त नै भावी प्रधानमन्त्रीका लागि थियो । योचाहिँ नयाँका नाममा भएको तर अहिलेसम्म नदेखिएको दृश्य हो ।
यस्तो गठबन्धन देशको चौथो शक्तिकका रूपमा रहेको रास्वपा र एकजना स्वतन्त्र मेयरबीचको हो । संसद् विघटन हुनुभन्दा अघि रास्वपा चौथो शक्तिमा थियो । उसले आउँदो चुनावमा आफ्ना दलका तर्फबाट प्रधानमन्त्री भनेर लिखत नै गरिदियो । यसले यो गठबन्धन यसअघि पुराना दलहरूले आलोपालो प्रधानमन्त्रीका लागि लिखित सम्झौता गरेर नै गठबन्धन जनाउने विगत लामो समयदेखिको अभ्यास नयाँहरूले पनि फोटोकापीकै रूपमा धारण गरेको अवस्था बनायो ।
पुराना दलका यस्ता गठबन्धन सुरु गर्दा कतै पनि पारदर्शी प्रक्रिया अपनाइँदैन थियो । उनका सबै सम्झौता बन्द कोठामा हुन्थे । तिनका स्वार्थ भनेको कसले कति दिन प्रधानमन्त्री चलाउने भन्ने हुन्थ्यो । आपसीरूपमा पदको यस्तै लेनदेन गरको कारण उनीहरू सत्तालोलुपता वा यस्तै आरोपबाट सधैँ आलोचित रहिरहे । यसका धुवाँधार आलोचक थिए अहिले आफूलाई नयाँ भन्ने तर उनै पुरानाका अनुकरणकर्ताहरू ।
त्यस कारण पनि नयाँ राजनीतिको नारा दिएर उदाएका काठमाडौंका ‘स्वतन्त्र’ मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भएको पछिल्लो सात बुँदे सहमति बढी चर्चामा आएको हुनुपर्छ । नत्र यस्ता गठबन्धन चुनावका सन्दर्भमा र सत्तामा साझेदार हुन विगतमा धेरै पटक भइरहेकै हुन् ।
खासगरी उल्लिखितहरूको यो गठबन्धन गर्ने शैली पनि यसअघि कांग्रेस–एमाले, एमाले–माओवादी वा एमाले–रास्वपा अथवा माओवादी–रास्वपाबीच यिनका शीर्ष नेताहरू मन्त्री र प्रधानमन्त्री हुनका लागि गठबन्धन गर्न जसरी गोप्यरूपले कसैका घरमा बसेर मध्यरात जसरी सम्झौता गर्थे, तिनका लिखत एक प्रकारका भित्र भद्र सहमतिका नाममा जसरी आन्तरिक लेनदेन मिलाउथे अहिले नयाँ भनिएका बालेन र रविबीच भावी प्रधानमन्त्रीको लेनदेन पनि यही रूपले भयो ।
यी व्यक्तिबीच पुस १३ को मध्यरातमा भएको सहकार्यको मूल कुरो भनी चुहेरजसरी बाहिर आयो, चुहेर किन भन्नुप¥यो भने आम नागरिकलाई जानकारी दिन यसको सार्वजनिक घोषणा गरिएको छैन, त्यसमा भावी प्रधानमन्त्री को हुने भन्नेबाहेक अरु केही देखिँदैन । सहमतिका ती बुँदाहरूलाई गम्भीरतापूर्व फेरि पढौँ ।
भावी प्रधानमन्त्रीका लागि गरिएको यो बालेन र रविबीचको सहमति हुँदा यी दुई पक्षले आफ्नो शक्तिको स्रोत जसलाई मानेका थिए तिनको कतै पनि उपस्थिति देखिएन । नयाँ राजनीतिक शक्ति निर्माणमा सक्रियता जनाउनेहरू समेतलाई छलछाममै राखियो ।
यो सम्झौतामा यहीँनेर यी दुई नेता वा व्यक्तिका चरम स्वार्थ उनिएका पाइन्छ । स्वतन्त्र उम्मेदवारबाट उदाएका बालेनको स्वार्थ कसैको दलीय ढाडमा चढेर निकट समयमा नै प्रधानमन्त्री बन्ने र रास्वपाका रविको बालेनको लोकप्रियताको लाभ उठाएर चुनावमा ठूलो दल बन्ने र त्यसको सभापति भइरहनेबाहेक सहमतिका बुँदाहरूमा लेखिएका अरु कुरा केवल औपचारिकजस्ता मात्र देखिन्छन् वा लाग्छन् ।
जस्तो बालेनले प्रधानमन्त्री बन्ने बनाउने सर्त वा स्वार्थमा रास्वपाको घण्टी चिह्न बोके । त्यो पार्टीको नाम र झन्डासँगै उसकै नीति स्वीकारे । आफ्नो नेता पनि अर्र्कै हुने भयो । उनले यति गरिदिएबापत रविले उनलाई संसदीय दलको नेतासहित भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा स्वीकार गरे । यी दुईको यस्तो स्वार्थबाहेक यो सहमतिमा देशले खोजेको परिवर्तनको ठाउँ खुला होइन काइते पाराले मात्रै देखाउँछ ।
यसै कारण बालेन–रवि सहमतिले वैकल्पिक राजनीतिको प्रमुख मागलाई निस्तेज पार्ने र नयाँ शक्तिका नाममा केपी ओली र शेरबहादुर देउवा वा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुरबीच तथा एकताका यही घुम्तीमा रमाएका रविको सत्ता गठबन्धनबाहेक यसमा अरु कुरा नदेखिएको हुनुपर्छ ।
यो सम्झौता पनि कुनै राजनीतिकभन्दा कुनै कम्पनीबीच भएको सहमतिजस्तो देखिन्छ । जस्तोः ‘पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपछि स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकारबीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ भनिएको छ ।
यो ठाउँमा बालेन रास्वपामा प्रवेश गरेका हुन् । उनलाई प्रवेश गराउने सन्दर्भमा उनलाई लाभ्याउन प्रधानमन्त्रीको पद उधारो दिइयो र बालेनले पनि त्यो उधारो प्रधनमन्त्री नै उपहारका रूपमा स्वीकारे । कुरा यतिमा नै सकियो । यो राजनीतिक व्यक्तिहरूबीचको सहमति हो । त्यस्तो बेला ‘पहिलो पक्ष र दोस्रो पक्ष’ भन्नेहुन्छ ?
अहिलेसम्म सार्वजनिकरुपमा घोषणा हुन बाँकी रहेको यही पुस १३ को मध्यरातमा भएको सहमतिपत्रका पृष्ठभूमि र ७ बुँदा :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाहबीच ‘बृहत् एकता’सम्बन्धी सहमति
सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ ।
१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिदका परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने
२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने
३. पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने
५. बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने
६. यस सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने । रवि लामिछाने बालेन्द्र शाह