काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई स्थानीयस्तरमा नै सरल र सहज रूपमा ऋण उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारीसँग सोमबार भएको भेटवार्तामा अध्यक्ष ढकालले वैदेशिक रोजगारीमा जान चाहनेहरूलाई ३६ प्रतिशतसम्म महङ्गो ब्याज तिर्नपर्ने बाध्यता रहेको बताए । अध्यक्ष ढकालले बैंक, वित्तीय संस्था, मनि ट्रान्सफर, सामाजिक सुरक्षा कोष इन्स्योरेन्स जस्ता वित्तीय संस्थाहरूबाट समन्वय गरी स्थानिय स्तरमा नै ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेमा जोड दिए । ढकालले सामाजिक सुरक्षा कोषमा योगदानको ठूलो रकम संकलन भएपनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा परिचालन हुन नसकेको बताए । उक्त कोषलाई उद्योग, कृषि, पर्यटनलगायत क्षेत्रसँग जोडेर लगानी गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको योगदानको ठूलो रकम जम्मा भएको छ । यो रकम उद्योग, कृषि, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्नेछ’, उनले भने ।
महासंघले आन्तरिक तथा वैदेशिक दुवै बजारका लागि दक्ष जनशक्ति उत्पादनमा जोड उनले बताए । उद्योगको आवश्यकताअनुसार सीपयुक्त जनशक्ति तयार गर्न सके श्रमिकको सुरक्षा, राम्रो आम्दानी र देशको आर्थिक उन्नति एकैसाथ सम्भव हुने उनको भनाइ छ । यस्तै उनले औद्योगिक करिडोरहरूमा बन्द र हडतालका कारण उद्योगमा जोखिम बढेको भन्दै उद्योगको सुरक्षाका लागि विशेष औद्योगिक सुरक्षाबल आवश्यक रहेको बताए ।
यस्तै वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भूवन सिंह गुरुङले विभिन्न देशमा कामदार पठाएवापत वैदेशिक रोजगार व्यवसायीले लिन पाउने रकम अन्य देशका व्यवसायीले पाउने भन्दा अत्यन्त न्यून रहेको बताए । सरकारले तोकेको सेवा शुल्कमा कामदार पठाउन नसकिने उनको भनाइ छ । श्रमिकहरू अन्यत्रबाट जाँदा झन ठगीने भएकाले नठगिने गरी नेपालबाट नै पठाउने गरी उचित समाधानमा ध्यान दिन आग्रह गरे ।
मन्त्री भण्डारीले महासंघ तथा वैदेशिक रोजगार व्यवसायी संघले उठाएका विषयहरूलाई सकारात्मक रहेको उल्लेख गर्दै श्रम मन्त्रालयले नीति सुधार, सहजीकरण तथा कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । निजी क्षेत्रसँग सहकार्य गर्दै श्रमिक हित, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखेर सरकारले उचित निर्णय गर्ने उनको भनाइ थियो । भेटका अवसरमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ तथा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।