काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रस स्थित स्मार्ट पेसँग औपचारिक रेमिट्यान्स सम्झौता गरेको छ । माछापुच्छ्रे बैंक लि. ले साइप्रस, ग्रीस, पोर्चुगल र सबै युरोपेली देशबाट नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ स्मार्ट पेसँग सहकार्य गरी विधिवत रुपमा रेमिट्यान्स सेवाको सुरुवात गरेको हो । रेमिट्यान्ससम्बन्धी उक्त सम्झौतापत्रमा स्मार्ट पे को तर्फबाट मुख्य सञ्चालन अधिकारी स्टेफनी इसाबेल हेराक्लिओस र माछापुच्छ्रे बैंक लि. को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सम्झौतापछि युरोपेली देशमा रहेका नेपालीहरुले साइप्रस, ग्रीस, पोर्चुगल र अन्य युरोपेली देशबाट स्मार्ट पेको सबै प्रतिनिधि कार्यलयहरु, मोबाइल एप, अनलाइन सेवाहरूमार्फत एमबीएल रेमिट गरी नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे« बैंकका एक सय ६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।
साथै, स्मार्ट पे र एमबीएल रेमिट गरी पठाइएकोे रेमिट्यान्स नेपालका जुनसुकैै बैंकका खातामा तुरुन्त जम्मा हुने व्यवस्था यस बैंकले मिलाएको छ । स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना एक सय ६५ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा ८८ र ११ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा दुई सय ७४ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरुमार्फत १८ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।