काठमाडौं । नबिल इन्भेस्टमेन्ट बैंकिङ र नोवेल कलेजबीच सम्झौता भएको छ । नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणका लागि प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कान कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।
जारी पुँजी तीन अर्ब ५० करोड रुपैयाँ रहेको यस नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडले आफ्नो जारी पुँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ भने संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ । फ्रन्टलाइन ब्राण्डको नामबाट काठमाडौँको पुरानो बानेश्वरमा सञ्चालित यस अस्पतालको हालको क्षमता एक सय शैया रहेको छ भने यो अस्पतालले विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । थप सेवा विस्तारको लागि, निर्माणको चरणमा रहेको थप दुई सय शैया क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइने अस्पतालका लागि थप पुँजीको आवश्यकता पर्ने भएकोले कम्पनीले सार्वजनिक निष्कासनमा जान लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले जानकारी गराए ।
अस्पतालले हाल स्नातक तहका विद्यार्थीहरुलाई लक्षित गरी नर्सिङ तथा फार्मेसी लगाएतका शैक्षिक गतिविधीहरु पनि संचालन गर्दै आइरहेको कम्पनीले जनाएको छ । चिकित्सा सेवा र विभिन्न शैक्षिक कार्यक्रम प्रदान गर्दै आएको यस नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडको स्थापना वि.सं. २०६२।०९।१९ मा भएको थियो र हाल यसको वार्षिक कारोवार ५० करोडभन्दा माथि रहेको जानकारी कम्पनीले जनाएको छ साथै हाल यस संस्थामा दुई सयभन्दा बढी कर्मचारीहरु कार्यरत रहेको कम्पनीले जनाएको छ ।
सो सम्झौतामा नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेसन फाउन्डेसन लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका थिए ।