काठमाडौं । एनसेलले पोखरामा भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) क्षमता अभिवृद्धी परियोजना संचालनमा ल्याएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पोखराको एनसेल डाटा सेन्टरमा उक्त परियोजनाको उद्घाटन गरेका छन् । अत्याधुनिक सर्भरहरूमार्फत भोल्टे र भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सेवा प्रदान गर्न विस्तार गरिएको आईपी मल्टिमिडिया सबसिस्टम (आईएमएस) प्रणालीको स्विच अन गरी मन्त्री खरेलले औपचारिकरूपमा परियोजनाको उद्घाटन गरेका थिए । यो क्षमता अभिवृद्धीसँगै अब एनसेलले यो डाटा सेन्टरमार्फत ५० लाख सक्रिय ग्राहकहरुलाई भोल्टे सेवा दिन सक्ने भएको छ । दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे एक नयाँ प्रविधि भएकाले यसले उच्च गुणस्तरको हाई डेफिनिसन (एचडी) र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ ।
कम्पनीका अनुसार एनसेलको भोवाइफाइले प्रयोगकर्तालाई कुनै पनि वाइफाइको प्रयोग गरेर आफ्नै एनसेल नम्बरबाट फोन कल गर्न र रिसिभ गर्न सक्षम बनाउँछ । यसमार्फत प्रयोगकर्ताले एचडी भ्वाइस कल गर्न तथा एसएमएस पठाउन सक्छन् । विशेषगरी मोबाइल सिग्नल कमजोर हुने बेसमेन्ट, अग्ला भवनहरू वा दुर्गम ठाउँहरू जहाँ स्थिर वाइफाइ उपलब्ध हुन्छ त्यस्ता ठाउँहरुमा भोवाइफाइमार्फत सहजै सम्पर्कमा रहन सकिन्छ । मन्त्री खरेलले पोखराका विभिन्न कार्यलयको निरीक्षण, अवलोकन तथा भेटघाट गर्ने क्रममा पोखरामा रहेको एनसेलको डिजास्टर रिकभरी सेन्टरका रुपमा सञ्चालित डाटा सेन्टरको अवलोकन गरेका थिए । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठ र कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विषाखालक्ष्मी खड्काले मन्त्री खरेललाई स्वागत गरेका थिए ।
मन्त्री खरेलले डिजिटल नेपाल निर्माण गर्ने लक्ष्यलाई एनसेलका यस्ता पूर्वाधारले निरन्तर साथ दिइरहेको बताए । एनसेलका चीफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर श्रेष्ठले यो डाटा सेन्टर सन् २०१२मा स्थापना गरी सञ्चालनमा ल्याइएको बताए । ‘भोल्टेको क्षमता अभिवृद्धिपछि अब कम्पनीले यो आधुनिक सेवा अझ धेरै ग्राहकहरुलाई प्रदान गर्नसक्ने भएको छ’, उनले भने । श्रेष्ठ र एनसेलका अन्य जिम्मेवार शाखाका कार्मचारीहरुले पोखरा डाटा सेन्टरको काम, क्षमता, प्राविधिक पक्ष, दूरसञ्चार र सूचना प्रविधिमा उक्त डाटा सेन्टरको भूमिकालगायतका बारेमा मन्त्री खरेललाई जानकारी गराएका थिए ।