काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको २५औँ वार्षिकोत्सव तथा रजत महोत्वसको अवसर पारेर नेपाल पूर्वसशस्त्र प्रहरी संघले मधेश प्रदेशमा प्रथम पूर्वसशस्त्र प्रहरी सम्मेलन २०८२ तथा १८औँ साधारणसभाको आयोजना गरेको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा पुस १४ गते सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा उक्त सम्मेलन तथा साधारणसभाका आयोजना गरिएको हो । सोही अवसरमा महानिरीक्षक अर्यालले जेष्ठ सदस्य, वीरगति प्राप्त अमर सशस्त्र प्रहरीका परिवारजन तथा सशस्त्र प्रहरी उपचार सहायता तथा राहत कोषमा रकम प्रदान गर्ने महानुभावहरुलाई समेत नगर पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले सेवामा कार्यरत रही कर्तव्य पालनाको सिलसिलामा आफ्नो प्राण उत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै घाइते तथा अंगभंग भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुप्रति शीघ्र स्वास्थ्य लाभको समेत कामना गरे ।
नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुप्रति लक्षित गरी संगठनले लिएको विभिन्न कल्याणकारी तथा अन्य कार्यक्रमप्रति हार्दिक धन्यवाद दिँदै यस्ता कार्यक्रमले सम्पूर्ण अवकाशप्राप्त कर्मचारीमा हौसला बृद्धि हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पूर्वसशस्त्र प्रहरी संघका पूर्वसल्लाकार अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले उच्च मनोवलका साथ सेवामा प्रवेश गरी अवकाश प्राप्त गरेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनलाई आवश्यक परेको बखत एकजुट भएर लाग्नुपर्ने बताए ।