काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को कमजोरीका कारण सेयरबजारमा भारित औसत गणना विधि निष्क्रिय हुन पुगेको छ । बोर्डको कारणले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट पछि हट्न पुगेको हो ।
करिब ७ महिना लागू गरेर वैज्ञानिक गणना विधि मानिने अन्तिम १५ मिनेटको भारित औसत गणना विधि सही हुँदाहुँदै दबाबका कारण नेप्से उक्त निर्णयबाट पछि हटेको थियो । गत वर्ष चैत ७ बाट भारित औसत गणना विधि लागू भएको थियो । यो विधि हटेसँगै अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरु गणना गरिएको थियो । नेप्सेले चैत ७ गतेबाट लागू गरेको २ः४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरका भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । उक्त विधिमार्फत सेयरबजारमा हुने कारोबारको सो दिनको लागि अन्तिम मूल्य अर्थात् सही मूल्य सार्वजनिक हुने गरेको थियो ।
‘सेयरबाजरमा कम्पनीको कारोबारको सही तथ्यांक आउने हुँदा लगानीकर्ताका साथै कम्पनीहरुलाई समेत सही जानकारी प्राप्त हुन्थ्यो, जुन फाइदाजनक थियो’, नेप्सेका सूचना अधिकारी मुरारी पराजुलीले भने । वैज्ञानिक र सही विधि भएको कारण विश्वभर प्रचलनमा समेत रहेको उनको भनाइ छ ।
नेप्सेकै एक अधिकारीका अनुसार सही हुँदाहुँदै अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट नेप्से हट्न पर्नुमा सेयर लगानीकर्ताहरुको दाबाब कारण रहेको छ । केही निश्चित समूहहरुले आफ्नो निश्चित फाइदाको लागि उक्त विधि हटाउन दबाब दिएको र बोर्डले त्यसैलाई मानेको ती अधिकारीको भनाइ छ । उनका अनुसार लगानीकर्ताहरुले उक्त विधि नबुझेको कारण कतिपयले पुँजीगत लाभकरमा लगेर जोडेर विरोध गरेका थिए ।
उक्त विधि लागू हुनुअघि सेयरबजार बन्द हुनुअघिको अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसंगति बढेको थियो । हरेक दिनजसो कुनै न कुनै कम्पनीमा लगानीकर्ताहरुले अन्तिम समयमा आएर सेयर मूल्यमा सर्किट लगाउने गर्थे । बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो । खासगरी यसअघि सेयरबजार बन्द हुनुअघिको अन्तिम कारोबार मूल्यलाई नै कारोबार मूल्य मानिने हुँदा उक्त समस्या देखिने गरेको थियो । लगानीकर्ताहरुले १५ मिनेटको भरित औसत गणाना विधि खारेज गर्न माग गर्दा पनि नेप्सेले उक्त विधि सही रहेको तर्क प्रस्तुत गर्दै आएको थियो । लगानीकर्ताले उक्त विधि लागू गरेपछि सेयर बजारमा निरन्तर गिरावट देखिएको आरोप समेत लगाएका थिए । लगानीकर्ताहरुले कारोबार अवधिभरको तल्लो विन्दुभन्दा तल नेप्से बन्द हुन नसक्ने भए पनि अहिलेको प्रणालीले गलत परिणाम दिइरहेको दाबी गरेका थिए ।
नेप्सेले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त विधि प्रयोग गर्ने दाबी गरे पनि अझै पनि ‘म्यानुअल’ गणनामा निर्भर रहँदा बारम्बार मानवीय त्रुटि आउने लगानीकर्ताहरुले दाबी गरेका थिए । सफ्टवेयर प्रणाली विकास नगरी क्यालकुलेटर र एक्सेलमार्फत गणना गर्ने चलनकै कारण लगानीकर्ताले उक्त विधि गलत रहेको आरोप नेप्सेमाथि थुपारेका थिए । लगानीकर्ताले १५ मिनेटको भरित औसत खारेज गर्नुपर्ने माग गर्दै नेप्से र बोर्डमा गुनासो दर्ता गराउने तयारी गर्दा समेत नेप्सेले भने आफ्नो गणना विधि सही रहेको र यसलाई खारेज गर्न नसकिने तर्क प्रस्तुत गरेको थियो ।
लगानीकर्ताले नेप्से र बोर्डमा गुनासो दर्ता गराउनुनको साथै बोर्डका अध्यक्ष एवं अधिकारीहरुलाई दबाब दिएसँगै पछि हट्नु परेको हो । लगानीकर्ताको दबाबका कारण बोर्डले तथ्य पत्ता लगाउन उपकार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको थियो । तर पछि बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निर्देशनमा नेप्सेले १५ मिनेटको भरित औसत गणाना विधि खारेज गरेको हो । नेप्सेको उक्त निर्णयसँग सेयरबजारको वास्तविक तथ्यांकबाट लगानीकर्ताहरु वञ्चित हुन पुगेका छन् । विश्वका विकसित मुलुकहरुले प्रयोगमा ल्याएको त्यसको अनुसरण अन्य मुलुकले समेत गरेको अवस्थमा उक्त विधि लागू गर्नबाट धितोपत्र बोर्ड र नेप्से पछि हट्नु दुःखद कुरा भएको अर्थविद्हरु बताउँछन् । गणित अर्थात् तथ्यांकको लागि एउटा निश्चित विधि हुन्छ सो विधि लागू गरेमा मात्र तथ्यांक सत्य हुन्छ त्यसबाट पछि हट्न भनेको गलत सूचना तथा तथ्यांक दिनु हो भनेर अर्थविद् बताउँछन् ।
सेबोनले भने वैज्ञानिक विधि भए पनि लगानीकर्ताको दबाबको कारण अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट पछि हट्नु परेको जनाएको छ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधि लागू गरेसँगै लगानीकर्ताहरुले निश्चित स्वार्थ समूहका कारण उक्त विधि लागू गरेको र निरन्तर बजार घटेको आरोप लगाएका थियो । लगानीकर्ताहरुले उक्त विधि हटाउन माग गरेसँगै नेप्से पछि हटेको हो । लगानीकर्ताको निरन्तर दबाबका कारण उक्त विधि हटाउन नेप्सेलाई निर्देशन दिएको बोर्डका एक अधिकारीले बताए ।
विधि लागू नहुँदा पनि आरोप र विधि हटाउँदा पनि बोर्ड माथि आरोप नै लाग्ने गरेको ती अधिकारीको भनाइ छ । उक्त विधि लागु नहुँदा फाइदा लिने बानी परेका केही ठूला लगानीकर्ताले दबाब दिएसँगै बोर्डपछि हट्नु परेको बोर्डका अधिकारीहरुको भनाइ छ । ‘लगानीकर्ताको दबाब दिएसँगै बोर्डले चलखेल रोक्न कार्यान्वयनमा ल्याएको व्यवस्था लागू नगरेर लगानीकर्तालाई सजिलो बनाइदिएको हो’, ती अधिकारीले भने ।
भारित औसत मूल्यमा २ः४५ बजेदेखि ३ बजेसम्म जम्मा कारोबार भएको रकम(रुपैयाँ)लाई कारोबार भएको जम्मा सेयर कित्ताले भाग गरेपछि आउने मूल्य अन्तिम मूल्य हुन्छ । यसमा हरेक सेकेन्ड सेकेन्डमा भएको कारोबारलाई छुट्टै गणना गरिन्छ । अन्तिम १५ मिनेटमा हरेक कारोबार रकमलाई जोडेर जम्मा कारोबार रुपैयाँ निकालिन्छ । त्यो बीचमा कारोबार भएको कित्ता पनि जोडिन्छ । अनि भाग गरिए पछि अन्तिम मूल्य तय हुन्छ ।
बोर्डले नेप्सेले बनाएको विनियमावलीविपरीत परिस्थितिजन्य निर्णय भन्दै भारित औसत गणना विधि व्यवस्था रोक्न निर्देशन दिएको थियो । नेप्सेले भने उक्त विधिको लागि विनियमावली बनाएर पास गरेरै कार्यान्वयनमा ल्याएको थियो ।