विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्राध्यापक सङ्घका विभिन्न क्याम्पसका इकाइ पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन् । स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी, स्कुल अफ म्यानेजमेन्ट र स्कुल अफ इन्जिनियरिङ इकाइका पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।
निर्वाचन समिति संयोजक मनोज कुमार हलुवाईले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनियताको सपथ गराउँदै पदभार ग्रहण गराएका छन् । स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी इकाइ सभापति राखी बर्मा र सचिव अनिल कुमार यादव, स्कुल अफ म्यानेजमेन्ट इकाइ सभापति राजेश कुमार अग्रवाल, सचिव सुष्मा खरेल, सदस्य नीलम भट्टराईले पद तथा गोपनियताको सपथ लिएर पदभार ग्रहण गरेका छन् । त्यसैगरी, स्कुल अफ इन्जिनियरिङ इकाइ सभापति मोहम्मद जैदले पनि पद तथा गोपनियताको सपथ लिएर छन् । अन्य क्याम्पस इकाइका पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहणको कार्यक्रम बुधबार गरिने संयोजक हलुवाईले जानकारी दिए ।
स्कुल अफ हेल्थ साइन्सेज इकाइ सभापतिमा नमु कोइराला र सचिव नविन थापा मगर निर्वाचित भएका छन् । त्यस्तै, स्कुल अफ मेडिसिन एन्ड टिचिङ अस्पताल इकाइ सभापतिमा डाक्टर प्रभात चालिसे र सचिव डाक्टर शैलेश चौधरी निर्वाचित भएका छन् । जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर इकाइ सभापतिमा रवि आचार्य र सचिव मोहित नाथ निर्वाचित भएका छन् ।
केन्द्रीय समितिको निर्वाचन बिहीबार हुने
यस्तै केन्द्रीय समितिको निर्वाचन भने पुस १७ गते बिहीबार हुने निर्वाचन समिति संयोजक हलुवाईले जानकारी दिए । केन्द्रीय सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । सभापतिमा नविन लामिछाने, डाक्टर निरज कुमार मिश्र, नरेश कुमार साह र भुपेन्द्र बाह्रकोटीको उम्मेदवारी परेको छ । उपसभापतिमा तीन जनाको उम्मेदवारी परेको छ । शङ्कर प्रसाद दाहाल, दृष्टि वस्ती र जीवन थापाको रहेका छन ।