काठमाडौं । कृषिसम्बन्धी बृहत् अन्र्तराष्ट्रिय प्रदर्शनी ‘नेपाल एग्रीटेक इन्टरनेसनल एक्स्पो’ भरतपुरमा हुने भएको छ । कृषि क्षेत्रको आधुनिकीकरण र प्रविधिको प्रबद्र्धन गर्ने उद्देश्यले फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् प्रालिले एक्स्पो गर्न लागेको हो ।
माघ २ देखि ४ गतेसम्म भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुने आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन लगायतका विभिन्न देशका कृषिसम्बन्धी कम्पनीहरूका सयभन्दा बढी स्टलहरू रहने छन । प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषि औजार तथा उपकरण, पशु चिकित्सा सेवा, खाद्य प्रविधि, कीटनाशक, मल, बीउबिजन, कृषि तालिम, र वित्तीय सुविधाहरूका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । प्रदर्शनीमा देश तथा विदेशबाट उद्यमी, अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको छ । अन्तराष्ट्रिय प्रदर्शनीको लागि सीमित स्टलहरू बाँकी रहेकोले स्टल बुकिङ्ग गर्न पनि आग्रह गरिएको छ ।
प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना औजारदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने ठूला–ठूला उपकरणहरूको प्रदर्शनी लगायत डेमो पनि गरिने छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पुर्याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास छ । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्तहुने नविनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भइ मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।