काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । ‘तमु ह्युल छोज धिँ गुरुङ राष्ट्रिय परिषद्’द्वारा टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट देश निर्माण गर्नुपर्ने बताइन् ।
उनले जतिसुकै मतभेद भएपनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको जानकारी दिइन् । लोकतन्त्रको मुख्य आधार उल्लासमय वातावरणसहित स्वच्छ र निष्पक्ष निर्वाचन रहेको उनको भनाइ थियो । राजनीतिक दलका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस भएसँगै प्रतिनिधि सभा सदस्यको निर्वाचन सुनिश्चित भएको उनको दाबी छ । आसन्न निर्वाचनका सन्दर्भमा जिम्मेवार राजनीतिक दलसहित र युवाहरूबाट प्राप्त अमूल्य सहयोगका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले सम्बद्ध सबै पक्षको सहयोगमा उत्साहपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने बताइन् । शान्ति, सुरक्षाको प्रत्याभूतिसहित भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक निकास दिन अहोरात्र खटिरहेको सरकारलाई साथ दिन सबैसँग अनुरोध गरिन् ।
काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी तमु ल्होसार पर्व मनाएका छन् । गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर टुँडिखेलमा जम्मा भएका थिए । गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिएको थियो । गुरुङ समुदायले पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मंगलबार तमु ल्होसार पर्व मनाएका हुन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका भव्य रूपमा मनाउँछन् । तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।