बुटवल । नवलपरासीका दुई स्थानीय तहहरू सरावल गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकाले चालू आर्थिक वर्षका योजनाहरूको सम्झौता अन्तिम चरणमा पुर्याएका छन् । सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूका अनुसार चालू आर्थिक वर्षमा पनि उपभोक्ता समिति र टेन्डर दुवै प्रक्रियाबाट योजनाहरू कार्यान्वयनमा आएका छन् ।
आवको सुरुमा मंसिर मसान्तसम्म सम्झौता सम्पन्न गरेर कार्यान्वयनमा ल्याउने योजना भए पनि विविध कारणले सम्झौता सम्पन्न हुन नसके पनि वैशाख मसान्तसम्म सम्भवतः सबै योजनाहरू कार्यान्वयन सम्पन्न गर्ने लक्ष्य उनीहरूले राखेका हुन् । कर्मचारी अभाव, कानुनी बुझबुझारथको कमी, स–साना योजनाहरू धेरै हुनु, सीमित श्रोत साधनको उपलब्धता जस्ता केही समस्या तथा चुनौतीहरू भए पनि उपलब्ध श्रोत साधनको उच्चतम प्रयोगबाट जनतालाई सु–शासनको प्रत्याभूति दिलाउने कार्यमा उनीहरूले बढी जोड दिएका छन् ।
सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले वैशाख मसान्त वा जेठको पहिलो सातासम्म योजनाहरू सम्पन्न गर्ने बताए, ‘जहाँसम्म सम्झौता अझै भएको छैन सम्पन्न कसरी ? भन्ने प्रश्न उब्जिएला । सबै क्षेत्रमा एकैपटक काम हुँदा काम सक्न कठिन पनि छैन । मुख्य कुरा काम सुरु हुन समय लाग्ने हो । सुरु भएपछि छिट्टै सकिन्छ ।’ चालू आर्थिक वर्षमा समय लाग्ने योजना भनेका १५ सैयाको आधारभूत अस्पताल र गाउँपालिकाको प्रमुख प्रशासनिक भवन भएको उनले बताए । यीबाहेकका अन्य कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत चौतर्फी क्षेत्रका योजनाहरू कार्यान्वयनमा आउने बताए ।
पाल्हिन्दन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशकुमार गौडले गाउँपालिकामा कर्मचारीहरूको अभाव मुख्य समस्याको विषय भएको बताए । कर्मचारी आउन नमान्ने, आएपनि केही समयमै सरुवा लिएर जाने गरेको उनको भनाइ छ । विकास निर्माणको क्षेत्रमा कानुनी प्रावधानमा पूर्ण रूपमा चेतनाको विकास हुन नसक्दा पनि योजना समयमै सम्पन्न गर्न नियमितमा भन्दा बढी कसरत गर्नुपर्ने बताए । प्रमुख प्रशासकीय अधिकृत गौडले चालू आर्थिक वर्षमा टेन्डर प्रक्रियाबाट कार्यान्वयनमा आउने केही योजनाहरूको टेन्डर आह्वान गरिसकेको जानकारी दिए । उपभोक्ता समितिमार्फत हुने योजनाहरू उपभोक्ता समिति गठन गरी सम्झौता गर्ने कार्यको सुरुवात भइसकेको उनको भनाइ छ । समयमै काम सम्पन्न गरौँ भन्ने चाहना हुँदाहुँदै पनि योजना सम्पन्न हुन असार लाग्ने गरेको उनले बताए ।